नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार थप सात वटा केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँड गर्नुभएको छ।
सभापति देउवाले यसअघि शनिबार १३ वटा विभागको जिम्मेवारी तोक्नुभएको थियो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार सभापति देउवाले सोमबार केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन तथा वातावरण विपत् व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्यप्रशासन विभाग, मोहनबहादुर वस्नेतलाई खेलकुद विभाग, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको संयोजकको जिम्मेवारी तोक्नुभएको हो।
सभापति देउवाले शनिबार गठन गरिएकोे १३ वटा विभागमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभागको संयोजकको जिम्मेवारी दिनुभएको थियो।
यस्तै सभापति देउवाले आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई अदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समन्वय विभागको संयोजक तोक्नुभएको थियो।
विभाग प्रमुखको जिम्मेवारी दिने क्रममा शनिबार सभापति देउवाले शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभाग, चीनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग र प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना सञ्चार तथा प्रचार विभागको संयोजक तोक्नुभएको थियो।
आगामी वर्ष फागुन ७ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरी अघि बढेको कांग्रेसभित्र विभाग गठनको विषयलाई लिएर विवाद पनि उत्पन्न भएको छ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेपछि विभाग गठन गर्नुको अर्थ नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले विरोध जनाइरहेका छन्। आगामी महाधिवेशनबाट पुनः नेतृत्वमा जाने रणनीतिमा लागेका सभापति देउवाले १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचत भएलगत्तै आफ्नो प्रतिबद्धता पुरा गर्ने भन्दै दुई महिनाभित्र विभाग गठन गरिसक्ने जानाउनुभएको थियो।
सभापति देउवाले आफ्नो नियमित कार्यकाल सकिसकेपछि बल्ल विभाग गठन प्रक्रियाअघि बढाउन थाल्नुभएको हो। सभापति देउवाले कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहर नारायण श्रेष्ठ र धु्रव वाग्लेलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन पनि गर्नुभएको थियो।











प्रतिक्रिया