ईश्वरराज ढकाल, काठमाडौं ।
कोरोना भाइरसको (कोभिड–१९) बढ्दो त्रासलाई मध्यनजर गर्दै सरकारले विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ती देशको यथास्थितिबारे जानकारी नभइन्जेलसम्म एनओसी नदिने स्पष्ट पार्दै भन्नुभयो– ‘अहिले नो अब्जेक्सन लेटर दिई ती विद्यार्थीलाई नै उद्धार गरी स्वदेश ल्याउने अवस्था आएकाले तत्काल नदिने निर्णय भएको हो।
उहाँका अनुसार चीन, दक्षिण कोरिया, जापान, इटाली, इरान र सिंगापुरमा पूर्ण रूपमा एनओसी दिने प्रकृयामा रोक लगाइएको छ भने अन्य देशको हकमा राजदूतावास र अन्य निकायसँग छलफल गरी निर्णय गरिनेछ। सबै देशमा रहेका विद्यार्थी र नेपाली नागरिकको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले ती मुलुकमा एनओसी दिने प्रकृया हालका लागि स्थगित गरेको मन्त्री पोखरेलको भनाइ छ।
मन्त्रालयले संसारका ६८ देशमा नो अब्जेक्सन लेटर दिने गरेको छ।
उता मन्त्रीले एनओसी बन्द गरेको घोषणा गरे पनि सोमबार करिब ५ सयले प्रकृया पुरा गरी कागज लिएका छन्। मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटाका अनुसार मन्त्रालयबाट निर्णय नआएकाले एनओसी वितरण गरिएको हो। ‘हिजोसम्म त वितरण ग¥यौ आज गर्ने वा नगर्ने विषयमा लिखित निर्णय पर्खिरहेका छौं’ –सहसचिव सापकोटाले भन्नुभयो।
नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले मन्त्रालयले लिखित जानकारी नदिएकाले विदेशिने विद्यार्थीको विषयमा समस्या भएको बताउनुभयो। यसै विषयमा इक्यानले सोमबार शिक्षा सचिव महेश न्यौपानेसंग भेट गरेको थियो। भेटका क्रममा सचिवले छलफल गर्नुपर्ने बताउनुभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार वर्षमा झण्डै डेढ लाख बढीले(एनओसी) लिदैं आएका छन्। अहिले वैदेशिक शिक्षामा जाने विद्यार्थीको रोजाइमा पहिलोमा अस्ट्रेलिया, दोस्रोमा जापान, त्यसपछि न्युजिल्यान्ड र चीनलगायतका देश छन्।











प्रतिक्रिया