नेपाल समाचारपत्र, काठमाडौं
कोरोना भाइरस कोभिड ९–को संक्रमण विश्वव्यापी रूपमा फैलिएपछि नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान नेपालीलाई आग्रह गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो आग्रह गर्नुभएको हो।
चीनबाट फैलिएको कोरोना भाइरसको औषधि नभएको र विश्वभरि फैलिएकाले सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको जनाएपछि नेपाल सरकारको ध्यान केन्द्रित भएको हो।
५ जना अस्पताल भर्ना
विश्व स्वास्थ्य संगठनले नभनेसम्म त्रिभुवन विमानस्थलमा समेत हेल्थ डेस्क नाम मात्रको भएको र स्क्यानर मेसिन राखेकै १ सातामा बिग्रिएको अवस्थामा थियो।
शनिबारबाट परीक्षणलाई तिब्रता दिएलगत्तै आइतबार नेपालमा ५ जना कोरोनाभाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन्। पाँचैजना बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा भर्ना भएका छन्। कोरोनासँग मिल्दो लक्षण देखिए पनि उनीहरुलाई कोरोनाभाइरसकै संक्रमण भएको हो वा अन्य कुनै स्वास्थ्य समस्या हो भन्ने पुष्टि हुन ल्याब रिर्पोट आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको लक्षण मिलेकाले सोमबार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा निर्देशक डा. वासुदेव पाण्डेले जानकारी गराउनुभयो। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएका हुन्। अस्पताल भर्ना गरिएका बिरामीहरु शंकास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको पनि उहाँले जानकारी गराउँनुभयो। यसरी भर्ना हुनेहरुमध्ये ४ जना नेपाली र १ जना चिनियाँ नागरिक भएको पनि उहाँले जानकारी गराउनुभयो।
यसअघि चीनबाट नेपाल आएका एक नेपालीमा कोरोना भाइरस प्रमाणित भएको थियो। उनी आफैं अस्पताल आएर परीक्षण गराएका थिए। पश्चिमी जिल्लाका ती युवा चीनबाट काठमाडौं आई काठमाडौंबाट आफ्नो घर पुगी ज्वरो आएपछि टेकु पुगी २ घण्टा लाइनमा बसी ल्याब परीक्षण गराई टेकु अस्पताल पुग्दा उनलाई भर्ना गरिएको थियो। दुई दिन अस्पताल बसी उनी आफ्ना कागजपत्र लिएर अस्पतालबाट हराएका थिए। अस्पतालले टेलिफोन गरी उनलाई पुनः अस्पताल बोलाई थप परीक्षण गरी कोरोना भएको प्रमाणित गरेको थियो। पछिल्लो समय ती युवा स्वस्थ भई आफ्नो काममा फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनबाट फर्किएका ती व्यक्ति अस्पताल पुग्नुभन्दा अगाडि धेरै व्यक्तिको सम्पर्कमा पुगे पनि अरूमा कोरोना सरेको नपाइएकाले नेपालमा यो भाइरस प्रवेश गरिहाले पनि यसको फैलिने क्रम अन्य देशमा जस्तो तीव्र नहुने संकेत देखिएको डा. पाण्डेको अनुमान छ। तर उहाँले बेवास्ता नगर्न सुझाव दिनुभएको छ।
यता कोरोना भाइरसकै कारण सरकारको आग्रहमा ब्लड डोनर एसोसियसन (ब्लोदान)ले रक्तदाता दिवसको अवसर पारि यही फागुन २४ र २५ गते गर्ने भनेको अन्तर्राष्ट्रिय सम्मेलन पनि स्थगित गर्ने भएको छ।











प्रतिक्रिया