प्रधानमन्त्री अस्पताल भर्ना, भोलि मिर्गौला प्रत्यारोपण

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ। १२ वर्षअघि प्रत्यारोपण गरिएको उहाँको मृगौलाले काम नगरेकाले केही महिनादेखि डायलासिस हुँदै आएको थियो।

अस्पताल भर्ना हुनुअघि राष्ट्रका नाममा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनताका सपनालाई बीचमै अलपत्र पारेर आफू अलप नहुने बताउनुभएको छ। उहाँले आफ्नो स्वास्थ्यबारे ढुक्क हुन जनतालाई अपिल गर्दै भन्नुभएको छ– ‘उपचारपछि थप ऊर्जा र आत्मविश्वासका साथ अस्पतालबाट फर्किने विश्वास लिएको छु।’

प्रधानमन्त्री ओलीले आफ्नो आत्मविश्वास अजम्बरी हुनका लागि नभई जनतामा जागृत सपना साकार पार्नका लागि भएको उल्लेख गर्नुभएको छ।
उहाँले भिडियो सन्देशमा भन्नुभएको छ– ‘विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल मानिन्न। त्यसैले पनि तुलनात्मकरूपमा सजिलो हुने विश्वास गरेको छु।’

प्रधानमन्त्री ओलीको पहिलो मृगौला प्रत्यारोपण २०६४ साल साउनमा भारतस्थित अपोलो अस्पतालमा गरिएको थियो। उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपण भोलि बुधबार गरिने त्रिवि शिक्षण अस्पतालका मृगौला प्रत्यारोपण युनिटका चिकित्सकले जनाएका छन्।
मृगौलादाता उहाँकै भान्जी समीक्षा संग्रौला ज्ञवाली रहेको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका अनुसार ज्ञवालीको क्रस म्याचिङ मिलेकाले प्रत्यारोपणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

अस्पताल कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले मृर्गौला प्रत्यारोपणको टोलीमा उहाँका निजी चिकित्सक तथा नेफ्रोलोजिस्ट डा. दिव्या सिंह शाह, डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुवाश आचार्य, एनेस्थेसियाका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी रहेका छन्। साथमा पहिलोपटक प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको नेतृत्व लिएका एपोलो अस्पतालका भारतीय चिकित्सक प्राडा. अनन्तकुमार र थप स्वास्थ्यकर्मी पनि नेपाल आएको बुझिएको छ।