बाराका दुई बीओपी आफ्नै भवनमा



न्युज अफ नेपाल, बारा ।

बाराका दुई ओटा बोर्डर आउट पोष्ट (बीओपी) का आफ्नै भवन बनेका छन् । कवही गोठ र पिपरपाती बीओपीका नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले आइतबार उद्घाटन गरे ।

ती बीओपीका भवनहरु सुवर्ण गाउँपालिकाको इटियाही र सिमरोनगढ नगरपालिकाको वीरेन्द्र चोकमा निर्माण गरिएको हो । नवनिर्मित भवनमा कार्यालय, निवास, ब्यारेक, मेसलगायत रहेका छन् । झण्डै एक करोड लागतमा ती भवन नाति निर्माण कम्पनी ललितपुरले निर्माण गरेको हो ।

भवन उद्घाटन कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय वासिन्दाको उपस्थित रहेको थियो ।

सो कार्यक्रममा बीओपीलाई सहयोग गर्ने व्यक्ति एवं उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्