पक्राउ परेका कार्यकर्ताको रिहाइ माग गर्दै कांग्रेसको विरोध



न्युज अफ नेपाल, सप्तरी ।

नेपाली कांग्रेस सप्तरीले राजविराजमा आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइ पक्राउ गरेको भन्दै सोमबार प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा राज रंगशालाबाट निस्केको जुलुसले पक्राउ परेका कार्यकर्ताको रिहाइ माग्दै बजार क्षेत्रमा प्रदर्शन पश्चात् नेता चोकमा कोणसभा गरेको थियो ।

गत २१ माघमा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहसहित केही कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले सोही नगरपालिकाका निवासी अमरेन्द्रकुमार यादव, अर्जुनकुमार यादव र राजिवकुमार रायलाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि अमानवीय व्यवहार अन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाइ छ । कांग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको दावी गर्दै रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

उनले डाक्नेश्वरी नगरपालिकाका प्रमुख साहलाई भेट्न जाँदा उपप्रमुखका पति ओमप्रकाश यादवले आफ्ना कार्यकर्तामाथि दुर्व्यवहार गरेको तथा फसाउने नियतले उल्टै प्रहरीमा झुठो उजुरी दिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्