समाचार प्रभाव : द्वन्द पीडित सुभद्रा दर्नालको घर बन्दै

0
Shares

कृष्णउदास खनाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ मा द्वन्द पीडित सुभद्रा दर्नालको घर निर्माण धमाधम भइरहेको छ ।

उहाँले झेल्न परेको समस्या नेपाल समाचारपत्रमा २०७६ साल असोज ५ गते प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले घर निर्माण गरिदिने प्रतिबद्धता जनाउनु भए अनुसार उहाँकै सयोगमा अहिले घर निर्माण कार्यले गति लिएको हो ।

करिब एक महिनाबाट निर्माणको कार्य शुरु भएको र अबको एक महिनाभित्रमा घर निर्माण सम्पन्न गरी पीडित सुभद्रा दर्नाललाई घर हस्तान्तरण गर्ने तयार रहेको निर्माणको जिम्मा लिइरहेको संस्था क्यूपेक मकवानपुरका अध्यक्ष प्रताप राईले जानकारी दिनुभयो ।

सुभद्राका पाँचभाइ छोरा मध्य चारजना मुलुकमा भएका बिभिन्न आन्दोलनका क्रममा सहभागी हुँदा कोही बेपत्ता र कोहीले शहादत प्राप्त गर्नु भएको हो । जेठो र माइला छोरा २०४६ सालको आन्दोलनमा सहभागी हुँदा शहाशत प्राप्त भएको र काँहिलो र कान्छो तत्कालिन माओवादीले संचालन गरेको सशस्त्र संघर्षकय क्रममा सहभागी हुँदा निधन भएको थियो । उनीहरुको तत्कालिन सेना र प्रहरीसंगको भीडन्तमा परी ज्यान गएको बताइको छ । साँहिलो छोराको भने दुई बर्ष अगाडि रोग लागेर मृत्यु भएपछि सुभद्रा बेसाहारा बन्नु भएको हो ।

यस बिषयको खबर नेपा समाचारपत्रमा प्रकाशित भएपछि मेयर महतले दशैंमा केही आर्थिक र खाद्यान्न सहयोग पनि गर्नु भएको थियो । आफूले जतिसक्दो चांडो घर निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएको र केही दिनमा नै सभद्रा दर्नाल नयाँ घरमा बस्न पाउनु हुने उहाँले बताउनुभयो । सुभद्राका पति नेत्र बहादुर दर्नालको पनि दुई बर्ष अगाडि निधन भएको थियो । आफ्नो जीवनमा यसअघि कहिल्यै खुसी नआएको भएपनि बिगत केही महिनादेखि भने खोसिएको थोरै नै भएपनि खुसी फर्किएको महसुस भएको बताउनुभयो ।

दयनीय रहेको सुभद्राको जीवनमा अब खुसीयाली छाएको छमेकी बिन्द्रा मोक्तानले जानकारी दिनुभयो । सुभद्राको साथम अहिले उहाँकी नातिनी अस्मिसा दर्नाल पनि रहनु भएको छ ।