नेपाल समाचारपत्र, काठमाडौं।
चीनको उहान क्षेत्रलाई आक्रान्त बनाएको कोरोना भाइरसलाई नियन्त्रण गर्न खोपको आविष्कार गर्ने काममा वैज्ञानिकहरू सफलताको निकट पुगेका छन्। गार्जियन दैनिकको अन्तर्राष्ट्रिय संस्करणले जानकारी गराएअनुसार खोपका लागि अनुसन्धानकर्ताहरूको दौड जारी छ। कम्तीमा तीन फर्मासुटिकल कम्पनी र विश्वका अनुसन्धानकर्ताहरू प्रभावकारी खोपको आविष्कारमा लागेका छन्।
अमेरिकाको मेरिल्यान्डस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताले व्यक्तिको शरीरमै कोरोना भाइरसको परजीवीविरुद्ध लड्ने क्षमता बढाउने खोप पहिला नै आविष्कार गरिसकेको पनि गार्जियनले उल्लेख गरेको छ। इन्स्टिच्युटले ‘महामारी रोकथाम आविष्कारका लागि सहकार्य’ नामक परियोजनाका लागि १ करोड १० लाख अमेरिकी डलर घोषणा गरेको छ।
कोरोना भाइरसको संक्रमण शुरू भएको हुबे प्रान्तमा रहेका सबै नेपालीहरुको उद्धार गरिने चीनस्थित नेपाली राजदूतावासले जनाएको छ।
१६ हप्ताभित्र खोप आविष्कार गरिसक्ने लक्ष्यका साथ थालिएको यस कार्यका लागि क्विन्सल्यान्ड विश्वविद्यालयलगायतसँगको सहकार्य रहनेछ। ‘यसैबीच अन्य संस्थाले पनि खोपको तयारी गरेको जनाएका छन्, तर दौड कसले जित्ने हो प्रतीक्षाको विषय छ।’ –गार्जियनले लेखेको छ।
इन्स्टिच्युटले उत्पादन गर्ने खोप कार्यक्रमको नेतृत्व किजमेकिया करबेटले गरेको जनाउँदै करबेटको भनाइ भनी अखबारले लेखेको छ– ‘खोपमा परजीवीको थुतुनो नष्ट गर्ने प्रोटिनमा केन्द्रित भएर हामी काम गर्दै छौं।’
अनुसन्धानकर्ताले सन् २००१ मा चीनबाटै शुरू भएको कोरोना भाइरस अहिले उहानमा देखिएको भाइरस समान रहेको जनाएका छन्। यो भाइरस भकुण्डोजस्तो तर प्रोटिनको तिखो चुच्चो थुतुनो भएको जनाइएको छ। यसले मानवको फोक्सो हुँदै शरीरभर आक्रमण गर्दछ।
१० जनवरीका दिन चीनले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी फैलिएको जनाएपछि करबेटको समूह खोप उत्पादनमा अहोरात्र खटिरहेको छ। यसैबीच कोरोना भाइरसको संक्रमण शुरू भएको हुबे प्रान्तमा रहेका सबै नेपालीहरूकोे उद्धार गरिने चीनस्थित नेपाली राजदूतावासले जनाएको छ।
बेइजिङस्थित नेपाली दूतावासले शनिबार एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने भनेको छ। त्यसका लागि इच्छुक व्यक्तिले आवेदन दिन पनि दूतावासले भनेको छ। दूतावासद्वारा जारी सूचनामा नेपालीहरूको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ।
दूतावासले हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले निर्णय गरेको जनाएको छ। नेपाल फर्किन चाहनेहरूको आवेदनका आधारमा विशेष उडानको विवरण तय गरिने सूचनामा उल्लेख छ।
उद्धारका लागि नेपाल वायुसेवा निगमको विशेष जहाज प्रयोग गरिने बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बताउनुभयो। उहाँका अनुसार हुबेको उहानमा सबैभन्दा धेरै नेपालीहरू रहेका छन् भने त्यहाँबाट केही टाढाका अरू शहरमा पनि नेपालीहरू रहेको पाइएको छ।
‘सबैलाई भेला गरेर नेपाल पठाउनका लागि छिटोमा तीन दिन र ढिलोमा पाँचदेखि सात दिन लाग्नसक्छ।’ –उहाँले भन्नुभयो।
उद्धारका लागि हुबे प्रान्तमा रहेका इच्छुक नेपाली नागरिकले दूतावासले जारी गरेको सूचनामा भनिएबमोजिम फर्म भरेर [email protected] मा पठाउनुपर्नेछ।
आवेदनका लागि आजसम्मको समयसीमा तोकिएको छ।लम्सालका अनुसार हुबेमा रहेका १ सय ८८ विद्यार्थी र श्रम स्वीकृति लिएर कामदार भिसामा रहेका १० जना गरी कुल १ सय ९८ नेपाली दूतावासको सम्पर्कमा आएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसको संक्रमण शुरू भएको चीनको उहानबाट नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय जुनसुकै बेला गर्न सकिने बताउनुभएको थियो।
यसअघि त्यस क्षेत्रमा रहेका नेपालीहरूले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए। चीनमा ११ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २ सय ५९ जनाको मृत्यु भइसकेको छ। चीनबाहिर नेपालसहित २२ देशमा १ सय जनाभन्दा बढी व्यक्तिमा संक्रमण भएको विवरण प्राप्त भएको छ।











प्रतिक्रिया