रंगशालालाई सय ट्रिप बालुवा

0
Shares

नेपाल समाचारपत्र, धादिङ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गल्छी गाउँपालिकाले शनिबार सय ट्रिप बालुवा पठाएको छ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र गल्छी गाउँपालिकाले ढुवानीका लागि सय ट्रिपर उपलब्ध गराएपछि रंगशाला निर्माणका लागि बालुवा उपलब्ध गराएको हो।

गल्छी गाउँपालिका, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र गल्छी गाउँपालिकाका व्यवसायीहरूको स्वतःस्फुर्तरूपमा सहयोग गर्ने प्रतिबद्धताअनुसार बालुवा पठाइएको गल्छी गाउँपालिका–४ का वडाध्यक्ष राजु अधिकारीले जानाकारी दिनुभयो।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला अन्तर्राष्ट्रियस्तरको हुने र छमेकी जिल्ला चितवनमा नै बन्न लागेपछि आफूहरूले सहयोग उपलब्ध गराएको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनुभएको छ।

यसअघि गल्छी गाउँपालिका कार्यालयमा सीताराम कट्टेललाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न सय ट्रिप बालुवा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। गाउँपालिकाले बालुवा उपलब्ध गराउने भएपछि नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सहयोग सम्भव भएको हो।

बालुवा लिएर गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष रामकुमार चापागाईं चितवन पुग्नुभएको छ। एक कार्यक्रम आयोजना गरी बालुवा क्रिकेट रंगशालालाई उपलब्ध गराएपछि आफूहरूले गरेको सहयोगले रंगशाला निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।