जागिरको तलबभन्दा दर्शकको ताली प्यारो



दुर्गाप्रसाद शर्मा, पर्वत।

नियमित तलब आउने, शान्ति मिसनमा जान पाइने, क्रमशः बढुवा हुने सेनाको जागिर खाने रहर थियो उनलाई। रहरले तीन वर्षसम्म सेनामा जागिर पनि खाए, तर अहिले सेनाको जागिरबाट आउने तलबभन्दा दर्शकको ताली प्यारो लागेपछि जागिर छाडेर हास्यव्यंग्यमा लागेका छन् प्रदीप गाउँले।

गण्डकी प्रदेशका एक सफल हास्य कलाकार प्रदीप गाउँले कलाकार बन्नकै लागि सेनाको जागिर त्यागेको बताउँछन्। ‘मलाई नियमित तलबभन्दा मेला महोत्सवमा पाइने दर्शकको ताली प्यारो छ।’ –उनी भन्छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५, आरुचौरमा जन्मिएका गाउँलेले गण्डकी प्रदेशका बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, पर्वत, कास्कीलगायतका जिल्लामा हुने धेरै मेला, महोत्सवदेखि साना कार्यक्रममा पनि स्थान पाउँदै आएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि कलाकार र पत्रकारहरूको जस्तै आवाज र लवज निकाल्न सिपालु प्रदीपले स्टेजहरू राम्रै पाउँदै आएका छन्।

२०७२ सालमा नेपाली सेनाको सिपाहीमा भर्ती भए पनि साढे दुई वर्षमा जागिर छाडे। ‘बच्चैदेखि कमेडी मन पराउने मलाई सेनाको टाइम टेबलमा रहेर ड्युटी गर्नभन्दा पैसा नै नकमाए पनि कलाकार बन्न मन लाग्यो।’ –उनले भने।

सानैदेखि कलाकार बन्न मन लागेका कारण जागिरबाट कमाएको पैसामा भन्दा स्टेजमा हँसाउँदा दर्शकले दिएको ताली आफूलाई प्यारो लाग्ने गरेको उनले सुनाए।

सानैबाट नै नेपाली हास्य विधाका कलाकारको जस्तै चाल चलन अपनाउन खोज्ने उनले विद्यालय तहमा अध्ययनरत हुँदाबाट नै गाउँघरमा हुने गरेका कार्यक्रममा आफ्ना कला देखाउने र हसाउने गर्थे। सेनाको जागिर छाडेपछि घरपरिवारका मान्छेले कराएर हैरान पार्ने गरे पनि अहिले भने परिवारका सबैजना सन्तुष्ट रहेको उनको भनाइ छ।

‘जागिर छाडेर पागलको जस्तो बुद्धि हाल्यो यसले भनेर मलाई धेरैले गाली गर्नुभयो। घरमा बुबाआमा र दाइले पनि निकै कराउनुभएको थियो।’ –उनले भने। उनले हास्य टेलीशृंखला थुक्क बदमासको लेखन तथा निर्देशन पनि गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्