कोरोना भाइरसको वितण्डाः १४ दिनमा ८० जनाको मृत्यु 



एजेन्सी ।

चीनमा कोरोनो भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ८० पुगेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ । अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन्। मृत्यु हुने अन्य चार व्यक्ति अरू स्थानका हुन्। सङ्क्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्।

थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ। सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।

यसअघि अधिकारीहरूले सङ्क्रमण तिब्र गतिमा फैलिरहेको चेतावनी दिएका थिए। लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ।

‘यो कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ। जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ।’ तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ। सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ।

कोरोना भाइरसको सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्। चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश ‘गम्भीर परिस्थिति’मा रहेको बताएका थिए।

के हो कोरोना भाइरस ?

कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसहरू मध्येको एक परिवारको एउटा सदस्य हो। हाल तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई कोरोना भाइरस नामकरण गरिएको छ।

विज्ञका अनुसार अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य रुपमा सरेको पाइएको छ । चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो।

यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ। ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्।

सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ। यो रोगको छुट्टै औषधि वा खोप नभएको विज्ञहरुले बताएको बीबीसीले उल्लेख गरेको छ ।

कहाँ–कहाँ फैलिएको छ ?

कोरोनाभाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ। तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ। अहिलेसम्म चीनबाहिर कम्तीमा ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन तथा सम्बन्धित देशले बताएका छन्।कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्।

थाईल्यान्डः ८
अमेरिका, अस्ट्रेलियाः ५–५
सिङ्गापुर, ताइवान, मलेशियाः ४–४
फ्रान्स, जापानः ३–३
दक्षिण कोरिया, भियतनामः २–२
नेपाल, क्यानडाः १–१

प्रतिक्रिया दिनुहोस्