मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई इरानी नागरीक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटीएको टोलीले इरानी नागरिक अलि मलेकी र भाहिद अजिमिक हामलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनाले माघ ६ गते ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफरबाट डलर साट्ने निहुँमा ६६ हजार रुपैयाँ चोरेका थिए । उनीहरुलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो । पैसा चोरेको दृश्य सीसीटीभी फुटेजमा कैद भएपछि उक्त फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । यस अघि पनि मलेकी ६ पटक र भाहिद दुई पटक नेपाल आएर फर्किएको अनुसन्धाबाट खुलेको छ ।

उनीहरुले ६ गते ताहाचलमा रहेको मनि ट्रान्सफर गई त्यहाँ रहेकी एक महिला कर्मचारीलाई डलर साट्ने भन्दै एक सय डलर काउन्टरमा राखे ।महिला कर्मचारीले हजारको एक बण्डल देखाएपछि पैसा समाएर पल्टाउँदै गरेका उनीहरुले फेरि पाँच सयको नोट देखाउन आग्रह गरेका थिए ।

पाँच सयको नोटको एक वण्डल उनीहरुको हातमा परेसँगै उक्त दुई बण्डलबाट उनीहरुले ६६ हजार निकालेका थिए । उनीहरु त्यहाँबाट हिँडेपछि पैसा गन्ने क्रममा चोरी भएको मनि ट्रान्फर सञ्चालकले थाहा पाएका थिए ।

Skip This