दीपक मनाङेविरुद्ध प्रहरीमा उजुरी

‘हातपात होइन झापड हानेको हुँ’ : मनाङे



विजय नेपाली, पोखरा । 

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष मिलन गुरुङले सांसद मनाङेविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्।

मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङबाट कुटिएका कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले कानुनी उपचार खोजेको बताउनुभयो।

लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि हातपात गर्नुभएको थियो।

अध्यक्ष गुरुङले सार्वजनिक स्थानमा नै हातपात गरेको, प्रतियोगिता भाँड्न खोजेको र मानहानि गरेको भन्दै अध्यक्ष गुरुङले उजुरी दिनुभएको हो।

हातपात गरेको भोलिपल्टै बुधबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि भएको हातपातको कानुनी उपचार लिएको बताउनुभयो।

‘हातपातको कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छु’, उहाँले भन्नुभयो– ‘सार्वजनिक ठाउँमा गालीगलौजसहित मुक्का प्रहार गरेकाले मैले मेरो जीउज्यानको सुरक्षाका लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हुँ।’

‘दुःख गरेर काम गरेको छु। कहिले राम्रो भयो होला कहिले कमजोर रह्यो होला’, उहाँको भनाइ थियो– ‘सम्झाउनुपर्ने ठाउँमा उल्टै मुक्का प्रहार गर्नुभयो।’

पोखरामा पहिलोपटक मुख्यमन्त्री कप आयोजना गरिएको बताउँदै उहाँले सार्वजनिक ठाउँमा गालीगलौज गर्दै मुक्का हान्दा आफूले भने संयमता अपनाएको दाबी गर्नुभयो।

‘मैले संयमता अपनाएँ। प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरेँ’ –उहाँले भन्नुभयो। गण्डकी प्रदेशको इज्जत जोगाउन आफू संयम बनेको जिकिर गर्नुभयो।

‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो। कार्यक्रम केही ढिलो भएको थियो। उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो। मनाङबाट आएको टोलीलाई होटल, ग्राउन्ड नमिलाइदिने भन्दै कराउनुभयो। फुटबलमा डे आफ्टर/बिफोर हुन्छ। मैले त्यसबारे बुझाउन खोजँे। पैसा नतिर्ने भन्दै कराए। मैले सहँदै गएँ। उहाँले मुक्का हान्नुभयो ‘–गुरुङले भन्नुभयो।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले प्रदेश सभा सदस्य राजीव गुरुङविरुद्ध उजुरी परेकाले अनुसन्धान गरिने बताउनुभयो। ुहामीकहाँ उजुरी परेको छ, हामी अनुसन्धान गर्छौ –प्रवक्ता केसीले भन्नुभयो।

‘हातपात होइन झापड हानेको हुँ’

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले एन्फा अध्यक्ष मिलन गुरुङलाई हातपात नगरेको तर झापड हानेको बताउनुभएको छ। प्रदेशसभा सदस्य गुरुङले आफूले भेटेको भए एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पालाई नै हान्ने अभिव्यक्ति दिनुभएको छ।

उहाँले पोखरा लेखनाथ भण्डारढिकमा जारी मुख्यमन्त्री कपको उद्घाटनको दिन हातपात गर्नुभएको हो। प्रदेश सभा सदस्य गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले हातपात नगरी झापड हानेको बताउनुभएको हो।

उहाँले पोखरामा गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप प्रतियोगितामा खेलाडीका लागि आवास तथा खानाको व्यवस्था नगरेको भन्दै झापड हानेको बताउनुभयो। ‘ठगलाई झापड हान्ने हो फूलमाला लगाउने होइन’ –गुरुङले भन्नुभयो।

‘त्यो मान्छे ठग रहेछ, ठूलो ठूलो कुरा गर्छ मैले झापड हानेर ठीक गरँे, त्यसको बोस कर्मालाई नभेटेर हो नत्र कर्मालाई झापड हान्थेँ’ –गुरुङले भन्नुभयो। कास्की एन्फा अध्यक्ष र सिंगो एन्फा नै ठग रहेको उहाँले आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्