सम्भावना धेरै पूर्वाधार न्यून



सुनील महर्जन

ललितपुरको दक्षिण पहाडी भेगमा आवश्यक पूर्वाधारको विकास गर्दै आकर्षक गन्तव्य बनाउने प्रशस्त सम्भावना रहेको छ। तर सम्भावनाको चर्चा चले पनि यस दिशामा अपेक्षाकृत कार्य हुन नसकेको पाइएको छ।

यसबारे सार्वजनिक सभा, समारोहमा बहस, छलफल भए पनि एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने गृहकार्य भइरहेको छैन। दक्षिण पहाडी भेगमा धार्मिक, पुरातात्विक महत्व र पर्यटकीय दृष्टिले आकर्षक अनेक गन्तव्यहरू छन्। तर आवश्यक पूर्वाधार, प्रचारप्रसारको कमीले ती ठाउँ ओझेलमा परेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो।

‘थुपै्र आकर्षक स्थानहरूको प्रचारप्रसार र मूल्य बढाउने काम गर्न नसकेको हो। यहाँको विशेषता र सम्भावना राजधानीको छायामा परेको छ।’ –अध्यक्ष महर्जनले भन्नुभयो। चुनावताका यहाँका विशेषता, मौलिकता र अविकासका बारे ठूलै चर्चा चले पनि अघिपछि त्यसका लागि कार्ययोजना बनाउने ठोस पहल हुन नसेको स्थानीयबासी बताउँछन्।

दक्षिण भेगमा एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन्। जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, डुंगा सयर, प्याराग्लाइडिङ, गुफा ध्यान, घोडचढीलगायत छन्।‘धरानको बराह, गुल्मीको रिडी र मुस्ताङको मुक्तिनाथजस्ता पुरातात्विक महत्वका तीर्थस्थल गोटीखेलको त्रिवेणी वैतरणीधाम र घडघडा नदी हो।’ –गोटीखेलका स्थानीयको भनाइ रहेको छ।

संरक्षण प्रवद्र्धनको अभावमा त्यसको महत्व ओझेलमा परेको पनि उनीहरू बताउँछन्।महांकालको सेरोफेरोमा घुम्ती मार्ग बनाउन सकेमा शिवालय मन्दिर र टापु वरिपरि विभिन्न अनुसन्धान केन्द्र र जडिबुटी खेती गर्न सकिने सम्भावना छ। यस क्षेत्रमा कृषि, खेल, धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ।

दक्षिण भेग देवीचौरस्थित सुन्तली डाँडाबाट उपत्यकाका तीनै जिल्ला र हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। दक्षिणतर्फ तराईको रौतहटदेखि वीरगन्जसम्म देख्न सकिन्छ। ‘यो ललितपुरको सबैभन्दा उपयुक्त दृश्यावलोकन स्थल हो’, देवीचौरका देवेन्द्र दुलालले भन्नुभयो– ‘इकुडोलको रमिते, गोटीखेलको बुर्जा र बुखेलको बिमिरे डाँडा पनि सजिलै अवलोकन गर्न सकिन्छ।गोटीखेलको कालेश्वर महादेवस्थान पनि हिमालदेखि तराईसम्म एकै स्थानबाट अवलोकन गर्न सकिने सम्भावित भ्यु प्वाइन्ट हो।’

कालेश्वरस्थित मृगबिसौना र काभ्रेसँगको सीमास्थल मानिने देउरालीस्थित थुम्का डाँडा जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हो। यहाँबाट उत्तरमा हिमशृंखलाहरू पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थान, पश्चिम र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ।

मानिखेलको खोर भञ्ज्याङलाई पनि पर्यटकीयस्थानका रूपमा विकास गर्न सकिन्छ। यी जनप्रतिनिघिको बेवास्तासँगै प्रचारप्रसारको अभावमा ओझेलमा परेको दुलाल बताउँछन्।भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटिखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, गिम्दीको चमेरे गुफा र प्युटारको नागगुफा उत्कृष्ट गन्तव्य स्थल हुन्।

महांकाल गाउँपालिका–५ का स्थानीय शिक्षक रमेश बजगार्इं भन्छन्– ‘ललितपुरलाई जावलाखेल, पुल्चोक, कुपण्डोलसँग मात्र तुलना गरेर हुँदैन, जिल्लाको दक्षिण भेगमा विश्वकै उत्कृष्ट स्थल पनि छन्।’क्षेत्र नम्बर १ प्रदेश सांसद लालकुमारी पुनले भन्नुभयो– ‘पर्यटन प्रवद्र्धन गर्न खाका तयार गरेर बजेटका लागि प्रदेश र केन्द्रमा प्रस्ताव गरिसकेको छौं।’

उहाँले फुल्चोकी र इकुडोलमा केबुलकारको सम्भाव्यता अध्ययन शुरू भइसकेको बताउनुभयो। ‘सडकलगायत भौतिक पूर्वाधारको पनि विकास गर्न लागिरहेका छौं।’ –उहाँले भन्नुभयो।

जंगल सफारी, चट्टान आरोहण र जलयात्रा

दक्षिण भेगमा अधिकांश जंगल क्षेत्र छन्। केही क्षेत्रलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिन्छ। चौघरे–ठोस्ने खोलासम्मको सडक आसपासमा वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ।

मूल मोटरबाटोको दायाँबायाँ मृग, खरायो, कालिज, हरिण, जरायो, मृगजस्ता वन्यजन्तु देख्न सकिने भएकाले जंगलमा यात्राको सम्भावना भएको गुरुयोजनामा उल्लेख छ।

स्थानीयहरूका अनुसार भारदेउ–गुप्तेश्वर डाँडामा निस्केर टुटुवाबाट कालेश्वरको मृगबिसौना हँुदै बतासेडाँडासम्म एक दिने जंगल सफारी रुट विकास गर्न सकिन्छ। त्यस्तै चौघरेबाट जंगल सफारी गरेर मृगबिसौना पुगेका पर्यटकलाई देउरालीमा तामाङ समुदायको ढ्यांग्रो नाच र झाँक्री नाच देखाउन सकिन्छ।

भारदेउका श्याम तामाङले भन्नुभयो– ‘अहिले जंगल सफारी गर्न पर्याप्त पूर्वाधार छैन। खानेपानी, शिविर सञ्चालन गर्न खुला चौरको व्यवस्थापन गर्नु आवश्यक छ।’ कालेश्वर महादेव मार्गमा पर्ने पार्वती डाँडा र कालेश्वर महादेव डाँडाको पूर्वी र दक्षिणी मोहडामा चट्टान आरोहणको सम्भावना छ।

बल्खु–माल्टासम्म जलयात्रा सञ्चालन गर्न सकिन्छ। माल्टामा मगर संस्कृति, नाच र संस्कृति झल्कने परिकारसहित कार्यक्रम सञ्चालन गर्न सकिन्छ। मानिखेलस्थित बिमिरेचौर फाँटमा ल्यान्ड गर्ने गरी पनि प्याराग्लाइडिङ गराउन सकिने सम्भावना रहेको छ।
जिल्लाको सबैभन्दा चिसो र अग्लो स्थान फुल्चोकी हो।

सबैभन्दा होचो तथा गर्मी गिम्दीको हेल्टार हो। गर्मी र चिसो दुवै क्षेत्रमा पाइने चराचुरुंगी अवलोकन गर्न सकिने ‘बर्ड वाचिङ रुट’ बनाउन सकिन्छ। त्यस्तै कृषि पर्यटनको सम्भावना पनि प्रचुर मात्रामा छ।

चापागाउँलाई च्याउको पकेट क्षेत्र, कालेश्वर–बुखेल चिया, सुदूर दक्षिणी भेग कफी, दक्षिण पश्चिमी क्षेत्र दलहन र तेलहन बाली, भैंसीपालन र दूध व्यवसायको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ। पर्यटकलाई कोसेलीका रूपमा घिउ, खुवा तथा दूधबाट बनेका परिकार दिन सकिन्छ।

खेल पर्यटन प्रवद्र्धन गर्न गल्फ, टेनिस, ब्याडमिन्टन कोर्ट, क्रिकेट मैदान बनाउने उपयुक्त स्थान छ।
धार्मिक प्याकेजमा जान चाहनेलाई गुप्तेश्वर, वैतरणी, कालेश्वर लोग्तुक गुम्बा, नागगुफा, टीकाभैरव, बतासे, गढी, शिसवन, चमेरे गुफा, रमिते, माझखण्डको बुद्ध विहार, गुम्बा, भट्टेडाँडा, सुन्तोलीडाँडामा स्वर्गद्वारी मन्दिर, तिलेश्वर, गुप्तेश्वर, महदेव मन्दिर छन्। नल्लु डाँडामा पाथीभरा मन्दिर छ। मानिखेल बुद्ध विहार छन्।
बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले भन्नुभयो– ‘पर्यटन विकास गर्न छुट्टै गुरुयोजना बनाउँदै छौं।’ ‘जिल्लामा २६ पदमार्ग छन्। चार बहुदिने ट्रेनिङ रुट छन्। अहिले केही हदसम्म व्यावसायिक भएको भए तापनि व्यवस्थित ढंगबाट हुन सकेको छैन।’ –मानिखेलका बुद्ध तामाङले बताउनुभयो।

प्याङगाउँलाई “जीवन्त संग्रहालय” बनाउने योजना अलपत्र

प्याङगाउँलाई ‘जीवन्त संग्रहालय’ बनाउने ६ वर्षअघिको योजना अलपत्रमा परेको छ। तत्कालीन चापागाउँ गाविसका पूर्वअध्यक्ष चरसुन्दर महर्जनले भन्नुभयो– ‘उपत्यकाको मल्लकालका समुदायहरूमध्ये बाँकी एकमात्र जीवित समुदाय प्याङगाउँ हो।

यसलाई जीवित संग्रहालय बनाउने योजना कार्यान्वय गर्न जनप्रतिनिघिले चासो दिनुपर्छ।’ चापागाउँमा अवस्थित प्याङगाउँका अधिकांश वृद्धवृद्धा अहिले पनि गाउँमै उत्पादित वस्तु प्रयोग गर्छन्।

हाकुपटासी, चोलोबाहेक अरू लुगा लगाउँदैनन्। भदौमा मकैको थांग्रा उस्तै देखिन्छन्। पुरानो शैलीका घर र ढोका अझै बाँकी छन्।
नेवाः समुदायका अन्य स्थानमा भन्दा फरक भाषा बोल्ने उनीहरूको प्राचीन पेसा चोया तथा तामा बाँसको मानापाथी, मसला तथा आयुर्वेदिक औषधी राख्ने भाँडो, गमलालगायतका सामानहरू बनाउने हो।

कुनै बेला यी सामान जर्मनी, अमेरिकालगायतका देशमा निर्यातसमेत हुने गर्दथ्यो।चापागाउँ–११का वडाध्यक्ष निलबहादुर देशारले भन्नुभयो– ‘चालु वर्षमा बस्तीमा प्रवेशद्वार बनाउने क्रममा छौं। माना÷पाथी बनाउने तालिम तीनपटक दिइसकेका छौं।’ उहाँले त्यहाँ उत्पादित वस्तु विदेश पठाउने योजना रहेको बताउनुभयो।

दरबारको संरक्षण भएन

लेले सगरकोट कोताथुम्का डाँडास्थित लिच्छविकालीन दरबारको संरक्षण हुन सकेको छैन। ऐतिहासिक दरबारको उत्खनन हुनुपर्ने भन्दै पाँच वर्षअघि पुरातत्व विभागको दरबार हेरचाह कार्यालय ललितपुरले अध्ययन गरी प्रतिवेदन बुझाए पनि काम अघि बढेको छैन।

प्रतिवेदनमा डाँडामा प्राप्त इँटाको ढिस्कोले उक्त क्षेत्रमा दरबार रहेको भन्ने स्थानीयको भनाइलाई पुष्टि गर्ने आधार भेटिएको थियो। त्यहाँ थप उत्खनन गर्न विभागलाई आग्रह गरिएको थियो। पुरातत्व विभागका अनुसार दरबारको उत्खनन गर्ने योजना रहेको छ। तर त्यही योजनालाई देखाउँदै जनप्रतिनिधि पन्छिँदै आएका छन्।

अहिले दरबार क्षेत्र घाँसपातले ढाकेको छ। दरबार महत गाउँका बासिन्दाको कुलदेवता पूजा गर्ने स्थलको रूपमा परिचित छ। जनकथनअनुसार लेलेका मुख्य चार डाँडामध्ये एउटामा दरबार अर्कोमा हतियार भण्डार र बाँकी दुईमा सुरक्षाका जवानहरूको ब्यारेक थियो।

“विकासमा दीर्घकालीन मोडेलको खाँचो”

अहिले ६० वर्ष कटेका मानिस मात्र पहाडी भेगमा बसोबास गर्दै आएका छन्। सबै युवावर्ग उपत्यकालगायत विभिन्न क्षेत्रमा बस्दै आएका छन्। उनीहरू गाउँमा बस्न चाहँदैनन्।

बस्ती पातलिने क्रम झन् झन् छ बढ्दो छ। चुनावताका वा सार्वजनिक सभा र समारोहमा पहाडी भेगको विकटता र सडकको कुरा जोडतोडले हुने गरेको ललितपुर क्षेत्र नं १ का संघीय सांसद नवराज सिलवालको भनाइ रहेको छ।

‘विकासको मोडेल तयार नभएको मात्र होइन, विकासको मोडल तयार गर्नुपर्दछ भन्ने सोच पनि बनिसकेको छैन’, उहाँले भन्नुभयो– ‘त्यही बाटो बनाउने, फेरि भत्किने र अनि फेरि पिच गर्नेलाई विकास भनेर वर्षौंदेखि भन्दै आएका छौं।’

‘अब यस्तो पूर्वाधार विकासको चक्रबाट माथि उठेर दीर्घकालीन विकासको मोडेल तयार गर्नुपर्दछ। त्यस्तो मोडेलको शुरूमा एकीकृत बस्ती बसाल्ने गर्नुपर्छ। त्यहाँको स्रोत र साधनको परिचालन र उत्पादनशील बढाउने हिसाबले सडक बनाउनुपर्दछ।’ –सांसद सिलवालले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्