कास्कीमा एसईई उत्तरपुस्तिका परीक्षण स्थगित



कास्की ।

 विगत १० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षा एसईईका उत्तर पुस्तिका परीक्षण बुधबारदेखि कास्कीमा स्थगित भएको छ । कास्कीमा उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकहरुले कापी परीक्षणको पारिश्रमिक समयानुकूल वृद्धि गर्नुपर्ने मागसहितको ध्यानाकर्षण पत्र पेस गरेर कापी परीक्षण स्थगित गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका आचार्य र शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यलाई उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण आम कस्केली शिक्षक समूहका संयोजक छविराज पौडेलले शिक्षकका मागसहितको ज्ञापनपत्र हस्तान्तरण गरे ।


ज्ञापनपत्र बुझ्र्दै निर्देशनालय प्रमुख अम्बिका आचार्यले शिक्षकहरुका माग जायज भएकाले केन्द्रसँग समन्वय गर्ने आश्वासन दिए । उनले परीक्षण नरोकिदिन आग्रह गर्दै आन्दोलनका कार्यक्रमलाई पनि सँगसँगै बढाएर समयमै कापी परीक्षणलाई पनि जारी राखिदिन अनुरोध गरेका थिए ।

समन्वय एकाइ प्रमुख लोकनाथ आचार्यले पनि ज्ञापनपत्र बुझ्दै माग सम्बोधन गर्न केन्द्रलाई अनुरोध गर्नेमा जोड दिए । उनले कापी परीक्षणलाई निरन्तरता दिएर मागहरुलाई पनि उठाइरहनुपर्ने धारणा राखे । शिक्षकहरुले भने १० वर्षदेखि एउटै पारिश्रमिक दरमा कापी परीक्षण गराउनु आफूहरुका लागि अन्यायपूर्ण भएको भन्दै माग सम्बोधन नहुँदासम्म कापी परीक्षण र सम्परीक्षण स्थगित गर्नु परेको संधर्षरत शिक्षक समूहका सूचना तथा सञ्चार संयोजक समेत रहेका अमृत घिमिरेले जानकारी दिए ।

शिक्षकहरुले उत्तरपुस्तिका परीक्षण हलमा सूचना जारी गर्दै उत्तर पुस्तिका परीक्षण पुरानै पारिश्रमिक शुल्कमा नगर्नु हुन आग्रहसमेत गरेका छन् । मागको तत्काल सम्बोधन गर्न शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश र शिक्षा विकास तथा समन्वय एकाइ कास्कीमार्फत् नेपाल सरकार र शिक्षा मन्त्रालयसमक्ष ध्यानाकर्षण गराउन शिक्षकहरुले माग गरेका छन् । ज्ञापनपत्रमा उत्तर पुस्तिका परीक्षण स्थगनले समयमै नतिजा प्रकाशनमा पर्नसक्ने असरप्रति आफूहरु गम्भीर रहेकालले सम्बन्धित निकाय र नेपाल सरकार नै जिम्मेबार हुने सामूहिक ठहर शिक्षकहरुले गरेका छन् । ज्ञापनपत्रमा परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, निरीक्षक र उत्तरपुस्तिका परीक्षण शुल्क समयानुकूल पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ । पारिश्रमिक वृद्धि नहुँदासम्म शिक्षकशिक्षिका कापी परीक्षण सम्परीक्षणमा कुनै हालतमा नफर्कने शिक्षक भोजराज तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्