मौरीबाट लाखौं आम्दानी



सलिम अन्सारी, प्युठान। 

घर वरिपरि मौरीका घार। बारीमा पहेंलै तोरी फुलेको छ। उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन गरिरहन्छन्। प्यूठान नगरपालिका–७ टिकुरिका डिमराज पोख्रेल बिहान सबेरैदेखि साँझसम्म माहुरीसँगै खेल्नुहुन्छ। उहाँको घर, र बारीभरिका माहुरी घार देख्ने जोकोही छक्क पर्छन्।

‘उहाँ साँच्चिकै माहुरीजस्तै सक्रिय हुनुहुन्छ। बुढेसकालमा पनि उहाँको जोस युवाको भन्दा कम छैन।’ फुलेको तारीको बीचमा अहिले एकसय घार मौरी छन्। उहाँको दैनिकी त्यही मौरीको रेखदेख र स्याहार सुसारमै बित्छ। उहाँ मौरीलाई चरन क्षेत्र खोज्नेदेखि घारको व्यवस्थापन गर्नेसम्मको काम आफै गर्नुहुन्छ।

गाउँघरमा मास्टरको परिचय छ पोख्रेलको। तर, उहाँ अहिले मौरीपालक कृषकका रूपमा चिनिनुहुन्छ। शिक्षण पेसाबाट अवकास पाएपछि उहाँले मौरीमा हात हाल्नुभएको हो। २०७२ सालमा २० घारबाट मौरी पालन थाल्नुभएका पोख्रेल अहिले १ सय मौरी घारका मालिक हुनुभएको छ।

यसका लागि उहाँले २० लाख लगानी गर्नुभएको छ। अझै सय घार मौरी थप्ने योजना रहेको पोख्रेल बताउनुहुन्छ। सानो छँदा घरमा बाबुले गरेको मौरी पालनलाई आफूले अघि बढाइरहेको उहाको भनाइ छ।

दुई दशक स्कुल पढाएका उहाँ उमेरले ५२ वर्ष लाग्नुभयो। आई ए उत्तीर्ण गर्नुभएको छ तर, कामलाई सानो ठूलो ठान्नुहुन्न उहाँ। ‘मलाई पैसा ठूलो कुरा लाग्दैन खान लगाउन पुगे हुन्छ, उहाँले भन्नुभयो– ‘मौरी पालनलाई जीवन्त बनाउने सपना छ।’

१ सय घार मौरीबाट उहाले वार्षिक १९ क्विन्टल मह उत्पादन गर्नुहुन्छ। सबै खर्च कटाएर वर्षिक ५ लाख बचत हुने उहाँले सुनाउनुभयो। त्यस्तै, सरुमारानी ४ का टीकाराम पल्ली जिल्लाकै पुराना व्यावसायिक मौरीपालक कृषक मध्येका एक हुनुहुन्छ।

उहाँले २०५८ सालदेखि मौरीपालन गरिरहनुभएको छ। उहाँसँग ७० मौरीका घार छन्। यो वर्ष मह बेचेर ७ लाख रुपैयाँ आम्दानी भएको बताउनुभयो। यस क्षेत्रमा मेलिफेरा जातको मौरी पालिने गरिएको छ। महको बजार लोभलाग्दो छ। मह किन्नको लागि ग्राहकहरू घरमै आउछन्।

‘उत्पादन हुनु पर्यो महले बजार नपाउने कुरै छैन,’ उहाँ भन्नुहुन्छ– ‘नजिकैको संकलन केन्द्रमा बेच्न लैजान्छौ, बाँकी घरबाटै बिक्री हुन्छ।’ अहिले उहाँ युवाहरूलाई मौरीपालन गर्न सुझाउनुहुन्छ। सरुमारानी ३ का काजिमान केसीले ३ वर्ष अर्काको काम गरेरै मलेसियामा बिताउनुभयो।

त्यसले घर गुजाराबाहेक पैसा थुप्रिएन। बरु मन भाँचियो। उहाँ फेरि खाडी नफर्कने निधो गर्नुभयो र शुरू गर्नुभयो घरमै मौरी पालन। पाँच वर्षअघि केसीलाई मौरीपालन तालिम लिने अवसर मिल्यो। मौका त जुर्यो। उहाँले सो तालिमलाई खासै चासो दिनुभएन।

केसी भन्नुहुन्छ– ‘उपस्थितिका लागि मात्र लिएको तालिमले मेरो व्यावसायको माध्यम नै बदल्यो। ‘उ बेला आफू विदेशिएकोमा पछुतो लाग्छ,’ उहाँले भन्नुभयो– ‘५० घार मौरीपाले पैसैपैसा, विदेश भौतारिनै पर्दैन।’

उहाँसँग ३० घार मौरीका घार छन्। घुम्ती माहुरी चरनबाट केसीले एक सिजनमा ३ लाख बढी कमाउनुहुन्छ। सरुमारानी ४का अर्का मौरी कृषक हुमबहादुर थापा पनि मलेसियामा श्रम गरेर फर्किनुभएको हो। उहाँ पनि विगत ५ वर्षदेखि मौरीमै रमाउनुभएको छ। ५० घार मौरी छन्। मौरीले घर खर्च सजिलै चलेकोमा उहाँ खुसी हुनुहुन्छ। प्रती केजी मह ५ सयमा बिक्री हुने उहाँले बताउनुभयो।

हिजोआज मह काढ्ने चटारो छ। जिल्लाको बडडाँडा, मोतीपुर, स्वर्गद्वारी, गोठीबाङ, अमलटार, मरन्ठाना, बिजुवार, टिकुरी, बाग्दुला, खानीखोलालगायत क्षेत्रमा मौरीका घार राखेका किसान अहिले मह काढ्न व्यस्त छन्। यहाँ प्रशस्त फूल फूल्ने वनस्पती चिउरी, तोरीलगायतका बोट भएकाले मह धेरै राम्रो उत्पादन भइरहेको छ।’ हिजोआज मह काढ्न भ्याइनभ्याइ छ।’ कृषक केसीले भन्नुभयो– ‘मह उत्पादन राम्रो भइरहेको छ।’

एउटा गोलाबाट सिजनमा तीन पटकसम्म मह काढ्न सकिन्छ। कात्तिक, मंसिरमा पानी नपर्दा मह उत्पादन राम्रो हुने किसानहरूको अनुभव छ। हरेक फागुन, चैत, जेठ, असार, असोज र कात्तिकमा मह निकाल्ने सिजन हो।

माहुरी चरनका लागि चिउरी र अन्य बोटविरुवा तथा फुलहरू धेरै पाइने भएकाले यहाँ प्रशस्त मह उत्पादन हुन्छ। नेपाल मौरीपालन महासंघ जिल्ला शाखा प्यूठानका अनुसार जिल्लामा ५० भन्दा बढी व्यवसायिक कृषक छन।

चरन क्षेत्र राम्रो भएकाले मौरी व्यवसाय फस्टाएको संघका अध्यक्ष विष्णु सारुले बताउनुभयो। एक तथ्यांकअनुसार जिल्लामा मुदेघारसहित १ हजार ५ सय मौरी घार छन। यहाँबाट वार्षिक उत्पादित ३५ मेटिकटन मह बिक्री हँुदै आएको छ। यहाँ उत्पादित मह दाङ, बुटवल, काठमाडौंलगायतका शहरमा निर्यात हुन्छ।

प्रतिक्रिया दिनुहोस्