प्रचण्डको दाबीः कास्की–२ मा नेकपाको जित सुनिश्चित


न्युज अफ नेपाल, पोखरा।

नेकपा अध्यक्ष प्रचण्डले कास्की क्षेत्र नम्बर दुईमा नेकपाको विजयी सुनिश्चित भएको दाबी गरेका छन्। बुधबार पोखरामा नेकपाको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले कास्कीमा नेकपाको जित सुश्चित भएको दाबी गरेका हुन्।

प्रचण्डले केही दिन अगाडि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा आएर सूर्यलाई हत्केलाले छेक्ने जसरी झुट बोलेको उल्लेख गर्दै प्रचण्डले देउवाको झुट बोलेको शैलीले पनि कास्कीमा नेकपाका जित सुनिश्चित भएको दाबी गरे।

केही दिन अगाडि देउवाले पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीकै सल्लाहमा भारतले नेपाली भूमि लिपुलेकसहितका भू–भाग समेटेर नयाँ नक्शा जारी गरेको आरोप लगाएका थिए। उक्त आरोप्रति लक्षित गर्दै प्रचण्डले देउवाले सूर्यलाई हत्केलाले छेके जस्तो गरी झुट बोलेको बताएका हुन्।

प्रचण्डले कम्युनिष्ट पार्टीकै कारण मुलुकमा गुणात्मक परिवर्तन भएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीका कारण मुलुकमा ७० वर्षपछि स्थिर सरकार गठन भएको सुनाए। ‘दुई ठूला कम्युनिष्ट पार्टीले ठूलो जोखिम लिएर पार्टी एकता नगरेको भए मुलुकमा राजनीतिक स्थिरता आउने थिएन,’ उनले भने, ‘दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकै कारण मुलुकमा ७० वर्षपछि राजनीतिक स्थायित्व संभव भएको हो।’

पार्टी एकता भएपनि पाँच वर्षसम्म यो सरकार चल्छ की चल्दैन भन्ने आशंका कायम रहेको अवस्थामा नेकपा सचिवालय बैठकले त्यो अन्योलतालाई अन्त्य गरेको प्रचण्डको भनाइ थियो। नेकपा सचिवालय बैठकले पाँच वर्षसम्म वर्तमान प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने निर्णय गरेको थियो। उनले कम्युनिष्ट पार्टीले नै मुलुकमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख बनाएको उल्लेख गर्दै केही समयपछि मुलुकमा महिला प्रधानमन्त्री बन्यो भने त्यो पनि कम्युनिष्ट पार्टीले नै बनाउने दाबी गरे।