सभापति देउवाले प्रधानमन्त्रीको भारतसँगको मिलोमतोको आशंका मात्रै गर्नुभएको होः प्रवक्ता शर्मा


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको गम्भिर आरोप विवादित बनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले मिलाउने प्रयास गरेका छन् । भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको उनको भनाइ छ ।

सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’ उनले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन छिटो पहल गर्न भनेको स्मरण गर्दै शर्माले भने, ‘सरकारले देउवालाई जवाफ दिइरहनु पर्दैन, सीधै मोदीसँग कुरा गरे हुन्छ ।’

सबै दलले पटक–पटक भारतसँग छिटो वार्ता गर्न भन्दा पनि प्रधानमन्त्री ओलीले नगरेकाले आशंका गरिएको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ ।

७ मंसिरमा कास्की क्षेत्रनम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग सहमती गरेरै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोशी सम्झौताबारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए ।