काँग्रेसद्वारा कार्यकर्तालाई चुनावी रणनीति प्रशिक्षण


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली काँग्रेस १ नं क्षेत्रिय कार्य समिति भक्तपुरको आयोजनामा संचालित १ दिने रणनितिक प्रशिक्षण सम्पन्न भएकोछ । नेपाल विद्युत प्राधिकरणको तालिम केन्द, खरीपाटीमा संचालित प्रशिक्षणमा भक्तपुर प्रदेश सभा १ क अन्तर्गत चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको १० नं वडाका वडा सभापति, सह सभापति, बुथ संयोजक, सदस्यहरु, क्षेत्रिय प्रतिनिधि र क्रियाशिल सदस्य गरी ११० जनाको सहभागीता रहेको थियो ।

सहभागिहरुलाई स्वागत गर्नुहुदै १ नं क्षेत्रिय सभापति जिवन खत्रीले यो निर्वाचन लोकतान्त्रिक र निरंकुशतावादी कम्युनिष्ट सरकार बीचको भिडन्त भएकोले सबै साथीहरुलाई मंसिर १४ गते सम्म अहोरात्र खटिएर पार्टीको जितलाई सुनिश्चित गराउन अनुरोध गर्नुभयो ।

उपनिर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित गराउन निर्वाचनका रणनितिक कार्ययोजना र बुथ संयोजक तथा प्रतिनिधिहरुको काम, कर्तब्यबारे अभिमुखिकरण गर्ने उद्धेश्यले संचालित प्रशिक्षणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी र गुरुराज घिमिरले समसामयिक राजनैतिक सन्दर्भ र चुनावी मुद्धाका बारेमा र अधिवक्ता विवेकराज ढुंगेलले निर्वाचन कानुन र बुथ एजेण्टले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सहजिकरण गर्नु भएको थियो । प्रशिक्षणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सरकारका २१ महिनाको २१ असफलताको बारेमा जनतालाई प्रष्ट पार्न आग्रह गर्नुभयो ।

प्रशिक्षणका क्रममा जिल्ला सभापति दुर्लभ थापाले उच्च मनोबलका साथ अगाडी बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले मंसिर १४ गतेको उपनिर्वाचनको पूर्व सन्धयामाा सत्ता र शक्तिको आडमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले झुठा आश्वासन र लोभ देखाएर सोझा सिधा जनताहरुलाई भ्रममा पार्न सक्ने भएकोले त्यस तर्फ सजग भई जनताहरुको घरदैलोमा घरदैलोमा जानुपर्ने बताउनुभयो ।

उहाँले विभिन्न प्रलोभन, डर र धम्कीका भरमा पार्टी प्रवेश गराउने नेकपाको कार्यले उनीहरुको हारको मानसिकता उजागर भएको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य सिता गुरुङ्गले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायस्थको संयोजकत्वमा संचालित प्रशिक्षणमा चाँगुनारायण नगरपालिकाका १० वटै वडाका सभापतिहरुले संक्षिप्त रुपमा प्रगति विवरण पनि पेश गर्नु भएको थियो ।