बिहेको जन्ती बोकेको बस दुर्घटनाः एक जनाको मृत्यु, कयौं घाइते


धादिङ, पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । साथै ४० घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । रासस