पुटिनको नेपाल भ्रमणको विषयमा छलफल गर्न परराष्ट्रमन्त्री ज्ञवाली रुस प्रस्थान गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्वियाको औपाचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्त्याउन राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो बोकेर परराष्ट्रमन्त्री ज्ञवाली मस्को प्रस्थान गर्न लाग्नुभएको हो ।

सोभियत संघको विघटनपछि औपचारिकतामा सीमित भएको रुससँगको सम्बन्ध सुधार गर्ने पहल अन्तर्गत आठ वर्षपछि नेपालका परराष्ट्रमन्त्रीले रुस भ्रमण गर्न लाग्नुभएको हो ।

सन् २०११ मा तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए भने त्यसअघि सन् १९९२ मा रुसका तत्कालीन परराष्ट्रमन्त्री नेपाल आएका थिए ।

मस्कोमा मंगलबार परराष्ट्रमन्त्री ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँगसँग भेटवार्ता गर्ने कार्र्यक्रम छ ।

दुई देशबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि मन्त्री ज्ञवाली सर्विया जानुहुनेछ ।

त्यहाँ उहाँले उपप्रधानमन्त्री तथा विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ग्लोवल वार्मिङ मुख्य विषय राखेर आयोजना गर्न लागिएको सगरमाथा डाइलगमा रुसी राष्ट्रपति आएर सम्बोधन गरे नेपालको पहल अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने सरकारको विश्वास छ ।