काम नगर्ने ठेकेदार पोष्टरमा !

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । लामोसाँगु जिरी सडकको खाडिचौर चरिकोट सडक विस्तार तथा स्तरोन्नतिको काममा ठेकेदारले लार्पवाहि गरेपछि दोलाखका स्थानियले ठेकेदारको फोटो सार्वजनिक गर्दै नैतिक दवाव अभियान सुरु गरेका छन् ।

नगरकोटबाट सुरु भएको यो अभियान दोलखाको चरिकोट आईपुगेको हो । दोलखाका स्थानियले चार बर्षदेखि काम अलपत्र पारेर जनतालाई दुख दिने मुडे चरिकोट सडक विस्तार तथा स्तरोन्नतिको जिम्मेवारी पाएको ठेकेदार दिपक सापकोटाको फोटो सार्वजनिक गरेका हुन् । उनीहरुले सार्वजनिक बसहरुमा ठेकेदार कम्पनि शंकर माली निर्माण सेवाका प्रबन्धक निर्देशक दिपक सापकोटाको तीन थरी फोटो सार्वजनिक गर्दै नैतिक दवाव अभियान सुरु गरेका छन् । सापकोटाको फोटोसंगै ‘ठेकेदार दिपक सापकोटा मूडे चरिकोट सडक किन अलपत्र पारेको ?,’ ‘मूडे चरिकोट सडक विगत चार बर्षदेखि अलपत्र पार्ने ठेकेदार दिपक सापकोटा मै हुँ । चिन्नु हुन्छ ?’, ‘जनतालाई सास्ती दिने ठेकेदार दिपक सापकोटा कालोपत्र छिटो गर ।’जस्ता नारा समेत लेखिएको छ ।

शनिवार विहान जम्मा भएका स्थानियले काठमाडौँ जाने यात्रुबहाक बसहरुमा सापकोटाको फोटो सहितको पोष्टर टाँस्न थालेपछि बसका स्टाफहरुले पनि सडकको कारण आफुहरुले आर्थिक नोक्सानिसंगै यात्रुहरुको गालिसमेत खानु परेको भन्दै आफै पनि पोष्टर टाँस्ने अभियानमा सहभागि बनेका थिए ।

अभियानमा सक्रिय होटल ब्यवसायी भरत रोशन श्रेष्ठले सडकका कारण पर्यटकीय गन्तव्य दोलखामा पर्यटकसंगै स्थानियले समेत सास्ती भोग्नु परेको बताउनु भयो । अर्का होटल व्यवसायी पुष्कर अधिकारीले स्थानियले सडक विस्तारको काम समयमै सक्न पटक पटक दवाव दिदा समेत वेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

भारतिय एक्जिम बैङ्कको झण्डै एक अरब २४ करोड ऋण सहयोगमा ५५ किलोमीटरको लामोसाँगु चरिकोट सडक विस्तारको क्रममा बिभिन्न ठाँउमा थुपारिएको माटो र खाल्डा खुल्डीको कारण यातायात सञ्चालनमा समस्या देखिएको छ । सडक विस्तारमा भएको लार्पवाहिकै कारण काठमाडौँ चरिकोटको एक सय ३३ किलो मीटरको दूरी तय गर्न १२ घण्टा भन्दा बढी समय लाग्ने गरेको व्यवसायी कमल चौहान बताउनु हुन्छ ।

लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रम अन्र्तगत लामोसाँगु मूडे २५ किलोमीटर सडक विस्तार र मूडे चरिकोट ३० किलोमीटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुबै कामको सम्पन्न अवधि दुई बर्षको थियो । तर सम्पन्न अवधि सकिएर दुई बर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति हुन सकेको छैन ।

लामोसाँगु मूडे सडक खण्ड अन्र्तगत चेनेज ० किमी देखि २५ किमीसम्म लामोसाँगु मूडे सडक खण्डको काम सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले गरिरहेको छ भने चेनेज २५ किमी देखी ५५ किमीसम्म मूडे चरिकोट सडक खण्डको काम शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले अहिले गरिरहेकोे छ ।

सडक आयोजनाका नयाँ प्रमुख दिप वाराहि सडक विस्तार तथा स्तरउन्नतीको काम बर्षा अघिनै सक्ने गरी अगाडि बढाउन आफुले दुवै खण्डको निर्माण कम्पनिलाई निर्देशन दिएको र उनीहरुले काम सुरु गरेकोले चाँडै समस्या समाधान हुने बताउनु हुन्छ ।