दक्षिणकाली-३ मा नमुना मतदान सम्पन्न

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विभिन्न कारणले रिक्त हुन आएका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आउँदो मंसिर १४ गते शनिबार उप निर्वाचनको घोषणा भएको छ । ३७ जिल्लामा विभिन्न ५० पदमा उप निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित सहित ५० पदमा पदका लागि उप निर्वाचन हुने छ ।

काठमाडौ जिल्लामा भने स्थानीय तह अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष पदको निर्वाचन हुदैछ । संघिय राजधानी रहेको काठमाडौंमा एक मात्र स्थानीय तहमा निर्वाचन हुनेहुदा सबै दलको ध्यान दक्षिणकाली ३ मा परेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा दक्षिणकाली ३ चुनावी माहोलले तातेको छ । राजनैतिक दलहरू आ(आफ्नो उमेदवार लाई जिताउन लागिपरेका छन् ।

राजनैतिक दलले आफ्नो प्रचारप्रसार लाई व्यापक बनाउदै गर्दा चुनावको प्राविधिक पाटोमा भने तेति चासो दिएको देखिदैन जसको फलस्वरूप मत बदरको संख्यामा कुनै कमि आउन सकेको छैन । मत बदर कम गर्नका लागि निर्वाचन आयोगले समेत मतदाता शिक्षामा खासै ध्यान दिएको छैन ।

 

निर्वाचनमा हुन सक्ने बदर मत लाई कम गर्ने नेपाल युवा संस्था सञ्जाल ९आयोन०ले बृहत निर्वाचन शिक्षा कार्यक्रम अन्तर्गत नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । नमुना मतदान कार्यक्रममा पुरूष १८१ र महिला ४६ गरि कुल २२७ मत खेसेको नमुना मतदान कार्यक्रमका संयोजक खिमानन्द देबकोटाले जानकारी दिनुभयो । कुल २२७ मतमा जम्मा ८ मत बदर भएको छ । जुन न्यून संख्यामा बदर भएको हो । दक्षिणकाली ३ मा कुल १२८६ मतदाता रहेका छन् ।

बिहान ७ बजे बाट सुरु भएको मतदान कार्यक्रम दिउँसो २ बजे सम्म सञ्चालन गरिएको थियोे । निर्वाचन प्रयोग गरिने सम्पुर्ण विधि पुरा गरि गरिएको निर्वाचनमा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहयोग रहेको देबकोटाले बताउनु भयो ।

निर्वाचन आयोग, नेपालको अनुरोध र जिल्ला निर्वाचन कार्यालय, काठमाडौ सँगको सहकार्यमा कार्यक्रम आयोजना भएको थियो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतदान स्थलमै मतदाता परिचयपत्र तयारी गरि मतदानका लागि मतदाता परिचयपत्र आवश्यक रहेको सन्देश दिईएको थियो भने बदर मतको किसिमको आधारमा आगामि दिनमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन हुने समेत देबकोटाले जानकारी दिनुभयो । नमुना मतदानमा कुल १४ जना कर्मचारी खटिएका थियाे ।