दुईदिने राष्ट्रिय परामर्श कार्यशाला गोष्ठी सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। महिला र गरिबी, महिला वातावरण, महिलाको मानव अधिकार र महिला शिक्षा र तालिमसहित १२ वटा महिलासम्बन्धी विषयमा व्यापक छलफलसहित घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालद्वारा राजधानीमा हाल आयोजित ‘बेइजिङ प्लस २५ समीक्षा’ विषयक कार्यशालाले महिला, यौनिक अल्पसङ्ख्यक, दलितलगायत सिमान्तकृत वर्ग, समुदायसहितको हक र हितका लागि सामूहिक पहल गर्न शुक्रबार घोषणापत्र जारी गरेको हो।

२५ वर्षअगाडि चीनको राजधानी बेइजिङमा चौथो विश्व महिला सम्मेलनको आयोजना गरेर विश्वभरकै महिलाको सशक्तिकरणको लागि स्पष्ट खाकासहित कार्यक्रम सार्वजनिक भएको थियो।
त्यस अवसरको अहिले नेपाललगायत विश्वभर नै ‘बेइजिङ प्लस २५’ शीर्षकमा पुनरावलोकन कार्यक्रम चलिरहेको छ।

यसै सन्दर्भमा महिला कानुन र विकास मञ्चलगायत बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालले सातै प्रदेशमा समिक्षात्मक कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिला सशक्तिकरणको लागि लामो समयदेखि प्रयास जारी भएको बताउनुभयो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको राष्ट्रिय कार्यशाला गोष्ठीमा महिला र वातावरण, महिला र अर्थतन्त्र, महिला र सञ्चार, महिला शिक्षा र तालिम, बालिका, महिला हिंसा, महिला र गरिबीसहितको १२ वटा महत्वपूर्ण विषयमा छुट्टा–छुट्टै समूहगत छलफल गरिएको थियो।