‘काले’सहित ह्याकर गिरोह सार्वजनिक 


परिवर्तन देवकोटा, काठमाडौं।कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम चोरी गर्ने १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

प्रहरीले उक्त बैंकबाट क्रेडेन्सियल ह्याकिङ गरी रकम निकालिरहेको समयमा रकम चोर्ने गिरोहलाई पक्राउ गर्दै उनीहरूको साथबाट ४० लाख ५० हजार रुपियाँ बरामद भएको जनाएको छ।

महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उक्त चोरीमा संलग्न एकै परिवारका तीन जनासहित १२ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा एकै परिवारका आमा, छोरा र छोरीसमेत रहेका छन्।

प्रहरीका अनुसार रसुवाकी ४० वर्षीया लक्ष्मी लामा तामाङ, उनकी छोरी २० वर्षीया निर्मला तामाङ र छोरा १८ वर्षीय निमा तामाङ एकै परिवारका सदस्य हुन्।

 

 

यस्तै नुवाकोटका ४३ वर्षीय लवाङ तामाङ, काठमाडौंका २६ वर्षीय संजय घले, सर्लाहीका ४२ वर्षीय पुष्पराज खड्का, लम्जुङका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँका ३८ वर्षीय श्रवण कुमार श्रेष्ठ, भक्तपुरकी ३२ वर्षीया सुनिता श्रेष्ठ, कैलालीका २२ वर्षीय विजय साह र ४५ वर्षीय चन्द्रबहादुर बुढा र काठमाडौं बस्ने भारतीय नागरिक ३० वर्षीय शुबन्कर पन्जालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गिरोहले कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

पानसको त्यो पैसा, जसले खोल्यो पोल

 

पक्राउ पर्नेमध्ये निर्मलाले उक्त बैंकबाट पानस रेमिटमा आएको रकम एकपटकमा ६० हजार गर्दै ६ पटकमा ३ लाख ६० हजार निकालिन्।

उनको यो कार्यप्रति  शंका लागेर रेमिटबाट तुरून्त प्रहरीलाई खबर पुगेपछि निर्मला पक्राउ परिन्। अन्ततः उनको बयानका आधारमा उक्त गिरोहका नाइके लवाङ आइतबार राति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परे।

 

नेपालको मुख्य एजेन्ट लवाङ

प्रहरीका अनुसार बैंकको सिस्टम ह्याक गरी रकम चोर्ने मुख्य पात्र नुवाकोटका लवाङकै नामबाट अन्य विभिन्न व्यक्तिहरूको खातामा रकम गएको देखिएको छ।

उनीमार्फत अन्य व्यक्तिमा रकम गएको देखिएपछि लवाङ नेपालको पहिलो नम्बरको एजेन्ट भएको खुल्न आएको महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनुभयो।

उहाँका अनुसार उक्त बैंकबाट अन्य व्यक्तिको खातामा गएको ४ करोड ७३ लाख ९६ हजार रकममध्ये ५० लाख रुपियाँ तामाङकै खातामा गएको थियो।

‘काले’को कालो धन्दा

नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट रकम चोर्न गिरोह नै सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

भारतको मुम्बईमा बस्ने ‘काले’ भनिने पिटरले मुम्बई बसी नेपालका बैंक र वित्तीय संस्थाहरूबाट ५ अर्बभन्दा बढी रकम चोर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

कालेले उक्त कार्यमा नेपाली नागरिकलाई प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उसकै योजनामा मंगलबार कृषि विकास बैंकको रकम चोरिएको थियो।

 

भारतमै मिटिङ, भारतमै सेटिङ

प्रहरीका अनुसार कालेले बैंकको प्रविधि ह्याक गर्ने योजना बनाएर नेपालका नागरिकसँग सम्पर्क बढाएको देखिन्छ।

 

उसले भारतमै बसेर नेपालको कुन बैंक ह्याक गर्ने र कति रकम चोर्ने भन्ने निश्चित गरी नेपाली गिरोहलाई बोलाई चोरीको १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने र कमिसनबाट बाँकी हुने रकम हुन्डीमार्फत पुनः भारतमै पठाउने योजना बनाउँछ।


ह्याकरहरूको गिरोहले नेपालका एजेन्टहरूलाई नविल बैंक, कृषि विकास बैंकलगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई रकम चोर्दै आएको प्रहरीको ठम्याइ छ।

 

चिनियाँ ह्याकरहरूले नेपाली बैंकहरूबाट रकम चोरेको महिना दिन नबित्दै अन्य ह्याकरहरूले समेत नेपाली बैंकबाट रकम चोर्न थालेपछि निक्षेपकर्ताहरूमा चिन्ता बढेको छ।

  •  कृषि विकास बैंकबाट करोड चोरी
  •  चोरीमा एकै परिवारका तीन जनासहित नेपालीसमेत संलग्न,