‘बढी भाडा लिए तत्काल खबर गर्नुस्’

बसपार्कहरूमा सादा पोशाकका प्रहरी परिचालन


ईश्वरराज ढकाल, काठमाडौं।महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ।

हरेक वर्ष दशंै र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बढी भाडा लिने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताउँदै भन्नुभयो– ‘बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिसकेका छौं। यदि कसैले बढी भाडा लिएको प्रमाण फेला पारे तत्काल कारबाही गर्छांै।’

विशेष गरी बल्खु हुँदै हेटौंडा, वीरगन्ज, सिमरा, निगजढ र कोटेश्वर हँुदै पूर्व जाने साना सवारीसाधनले बढी भाडा लिने गरेको गुनासो आउने गरेको महाशाखाले जनाएको छ।

टिकटअनुसार मूल्य लिएको छ कि छैन भनी चेकजाँच गर्ने र उल्लंघन गरेमा कारबाही गरिने महाशाखाले जनाएको छ। तर, अधिकांश काउन्टरमा हालसम्म भाडादर टाँसेको पाइएको छैन।

प्रहरीले भीडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाउन शुरू गरिएको एसएसपी ढकालले जानकारी दिनुभयो।

साना वा ठूला जुनसुकै यात्रुवाहक सवारीसाधनले बढी भाडा लिएको जानकारी पाउनेबित्तिकै नजिकै रहेको ट्राफिक प्रहरीलाई तत्काल जानकारी दिनसमेत महाशाखाले अनुरोध गरेको छ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालले बढी भाडा लिनेलाई तत्काल नियन्त्रण गर्न उपत्यकाका सबै बसपार्कमा ट्राफिक प्रहरी परिचालन गरिसकेको जानकारी दिनुभयो।

महाशाखाले सहज आवागमन, दुर्घटना न्यूनीकरण तथा कानुन कार्यान्वयन गर्न उपत्यकामा डिउटीमा रहेका ७ सय ५० र थप ४ सय ३० गरी १ हजार १ सय ८० प्रहरी परिचालन गरेको छ।
प्रहरीले ३ सय ६८ स्थानको नियमित र चाडपर्व लक्षित थप ४ सय ३० प्रहरी परिचालन गरेको जनाएको छ।यसैगरी लामो दूरीका सवारीसाधनमा अनिवार्य रुपमा दुईजना चालक भए नभएको विषयमा ट्राफिक कम्युनिकेसन एप्समार्फत निगरानी गर्ने व्यवस्था गरेको जनाएको छ।

यसैगरी ओभरलोड राख्ने सवारीसाधनमाथि पनि यन्त्रद्वारा कडाइ गर्ने भएको छ।  उपत्यकाको व्यापारिक स्थान न्युरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगन्ज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुरको बजार क्षेत्रमा सवारीसाधनको चाप बढ्न गई ट्राफिक व्यवस्थापन समेतमा प्रभावित हुने भएकाले त्यस्ता स्थानहरू ट्राफिक प्रहरीको उपस्थिति बढाई आवश्यक परेमा डाइभर्सनको व्यवस्थासमेत मिलाउने व्यवस्था गरेको छ।

महाशाखाले बिहान, दिउँसो, बेलुका र राति गरी ४ पटक विशेष चेकिङको व्यवस्था गरेको छ। महाशाखाले दशैं लक्षित गरी नागढुंगा, कलंकी, हल्चोक, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्क क्षेत्रमा विशेष चेक प्वाइन्टको व्यवस्था गरेको छ।
एसएसपी ढकालले चाडवाडमा मापसे गरी सवारी चलाउने माथी कडाइ गर्दै उपत्यकाबाट बाहिरिने, भित्रिने र उपत्यकामा सञ्चालन क्षेत्रमा मापसे चेकिङको व्यवस्था गरिएको जानकारी दिनुभयो।
महाशाखाले हिजो बुधबारदेखि नागढुंगा, कलंकी, हल्चोक, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्कगरी १४ स्थानमा नागरिक सहायता कक्ष राख्न शुरु गरेको छ।
कक्षमा ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायीहरू, उपभोक्ता समूहका प्रतिनिधि, करिब ५ सयको संख्यामा ट्राफिक स्वयंसेवक रहने व्यवस्था गरेको छ।
महाशाखाले सार्वजनिक यातायातमा जनचेतनामूलक अडियो राखी १ हजार वटा पेनड्राइभ वितरण गरेको जनाएको छ।