‘काले’ को ‘मास्टरप्लान’: मुम्बईमा बसेर नेपाली बैंकबाट ५ अर्ब लुट्ने योजना, १२ जना एजेन्ट समातिए


न्युज अफ नेपाल, काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो । यो लुटका मुख्य मास्टरमाइण्ड पिटर हुन् जलाई काले भनेर चिनिन्थ्यो ।कालेले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा बसेर अपरेट गरिरहेका थिए ।

उनी मुम्बइमा बसेर नेपालमा विभिन्न व्यक्तिहरुलाई परिचालन गरी रकम लुटिरहेका थिए । कालेले विभिन्न नेपालीहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा सिस्टम ह्याकिङ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ । पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ । पिटरले मुम्बइमा बसी नेपालका मानिसहरुसँग सम्पर्क गरेको भेटिएको छ । उनले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने र कमिसन डिल गर्ने गरेको भेटिएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देनखि ३५ प्रतिशतसम्म कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ ।

प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको छ । उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको छ ।राष्ट्र बैंकले लुटमा बैंककै कर्मचारीहरुको संलग्नता भएको पुष्टि गरेको छ ।

राष्ट्र बैंकका अनुसार तीन जना कर्मचारीले कृषि विकास बैंकको आफ्नो युजर प्रयोग गरेर विभिन्न खातामा पैसा ट्रान्सफर गरेका थिए । त्यसमध्ये २ करोड हाराहारी ट्रान्सफर गरिएका खातावालाहरुले झिकिसकेका छन् ।