कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा


न्युज अफ नेपाल, काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको वर्तमान उपाध्यक्ष रहनुभएका आचार्यले आगामी कार्यकाल ९२०१९–२०२१० का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आचार्यले बेलायतबाटै उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो । विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकमा पुगेर राय तथा सुझाव लिएपछि संघको अध्यक्षमा उम्मेदवारी दिएको आचार्यको भनाइ छ।
पर्वतको जलजला गाउँपालिका वडा नं ७ का आचार्य लामो समय देखि एनआरएनए आन्दोलनमा हुनुहुन्छ । उहाँले यसअघि युरोप संयोजक र उपाध्यक्षको जिम्बेवारी समेत कुशलतापुर्वक निभाउनुभएको छ ।

‘अग्रजहरु, संसारभर रहनु भएका एनआरएनकर्मी मित्रहरु तथा शुभचिन्तकहरुसँग सरसल्लाह गरी एनआरएनए अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भन्नुभयो । उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन ‘भिजनरी’ नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गर्नुभएको छ ।

आचार्यले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक पनि गर्नुभएको छ । उहाँले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढ्ने लगायत छन । त्यसैगरी, वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर पुर्‍याउने दाबी गरिएको छ । एनआरएनए सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिबद्धता समेत प्रतिबद्धतापत्रमा उल्लेख छ । उहाँले एनआरएनएलाई सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभएको छ ।

उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावनाअनुरुप निष्कर्षमा पुर्‍याउन निर्णायक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भन्नुभयो । अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरु बाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने जनाउनुभयो ।

नेपालका सबै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने उहाँको भनाइ छ। परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत वर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने समेत उहाँले कार्ययोजना सार्वजनिक गर्नुभएको छ।

संघका पूर्वअध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसिसीद्वारा पारित ‘भिजन २०२० एन्ड वियोन्ड’ अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गर्नुभएको छ । त्यसैगरी, आगामी २ वर्षभित्र सदस्य संख्या कम्तीमा १ लाख पुर्‍याउन विशेष अभियान सञ्चालन गर्ने, संघका एनसिसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएनए फाउन्डेसनमार्फत गर्ने व्यवस्था मिलाउने उहाँको भनाई छ ।

‘एनसिसी तथा आइसिसीमा नेतृत्व चुन्न अनलाइन भोटिङ प्रणाली सुरु गर्ने व्यवस्थाका लागि लाग्नेछु,’ उहाँले प्रतिबद्धता पत्रमा भन्नुभएको छ, ‘विदेशमा हुर्किरहेका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसँग जोड्नु मेरो उच्च प्राथमिकता हुनेछ।’

आचार्यले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन पर्यटन प्रवर्द्धनसम्बधी कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सबै एनसिसीहरुलाई प्रोत्साहित गर्ने, संघको तर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसिसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरी नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड दिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।