पर्वमा ट्राफिक प्रहरीको सुरक्षा योजनाः ३६८ स्थानमा ४३० थप प्रहरी परिचालन


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीले बडादशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना तय गरेको छ । यात्रुहरुको सहज आवागमन, दुर्घटना न्युनिकरण तथा कानुन कार्यान्यनको लागि ट्राफिक प्रहरीले विशेष नाका, व्यापारिक क्षत्र तथा बसपार्क परिसरमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । चाडवर्पमा हुने यात्रुहरुको भिडभाड र दुर्घटना न्युनीकरणको लागि ३६८ स्थानहरुमा ४३० जना ट्राफिक प्रहरी परिचालन गरेको छ ।

यस्तै चाडपर्वका बेला उपत्यकाका व्यस्त रहने मुख्य व्यापारिक स्थानहरु न्यूरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगंज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुरको बजार ईलाका आदी मा सवारी साधनको चाप बढ्ने भिडभाड बढि हुने भएकाले त्यस्ता स्थानहरु ट्राफिक प्रहरीको उपस्थिति बढाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै छठ पर्वमा मेला लाग्ने स्थानहरु जस्तै गुहेश्वरी, कमलपोखरी, वागमती किनार थापाथली, शंखमुल दोभान, बल्खु एरियामा सवारी साधन डाईभर्सन गरी पार्किङ्गको समेत व्यवस्था मिलाइएको छ ।

यस्तै दैनिक ४ पटक विशेष चेकप्वाईन्ट नागढुङ्गा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, भक्तपुर, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्कबाट उपत्यका बाहिरिने नाकामा सम्पुर्ण सवारी साधनहरुको चेकजाँच गर्ने व्यवस्था मिलाईएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले बताउनुभयो ।

यस्तै लामो दुरीका सवारी साधनमा अनिबार्य २ चालक भएनभएको चेकजाँच गर्नको लागि टिकट काउण्टरमा सादा पोशाकका प्रहरी परिचालन गरी निग्रानी बढाइएको छ । यस्तै सवारी साधनभित्र भाडा दररेट टाँस गर्ने, हेल्मेटको प्रयोग नगर्ने, तिब्रगतिमा सवारी चलाउने, ओभरलोड, सवारीकोछतमा यात्रु तथा मालसामान राख्ने लगायतका विषयमा थप कडाई गरिने पनि ट्राफिक महाशाखाले जनाएको छ ।

यसका सथै प्रहरीले यात्रुहरुको सुरक्षालाई ध्यानमा राखी नागढुङ्गा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु लगायतका १४ स्थानमा यात्रु सहायता कक्षहरू राख्ने निर्णय गरेको छ ।

साथै यात्रु सहायता कक्ष स्थापनाले सर्वसाधारण यात्रुहरुलाई सुरक्षा सम्बन्धी सु–सूचित गर्ने, यात्रुका गुनासा बटुल्ने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निगरानी राखी कारबाही गर्ने लगायतका विषयमा थप टेवा पुग्ने एसएसपी ढकालले बताउनुभयो । यस्तै प्रहरीले पर्वका भेला भिडभाड हुने स्थान र टिकट काउण्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ ।

यस्तै चालकले मा.प.से. गरेको पाइएमा सम्बन्धित ब्यवसायी र कम्पनीसँग समन्वय गरी अर्को चालक ब्यवस्थापन र यात्रुलाई गन्तब्यसम्म पुर्याउने ब्यवस्था समेत गरिने महाशाखाले जनाएको छ ।

साथै प्रहरीले यात्रु , चालक तथा सहचालकहरुलाई लक्षित गरी सवारी साधन छुट्नु भन्दा अगाडी सवारी साधन भित्र जनचेतनामूलक ट्राफिक नियमसम्बन्धी अडियो तथा पर्चा पम्प्लेट बितरण, अडियोको १००० वटा पेनड्राईभ वितरण तथा नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक यात्रुवाहक सवारी साधनको यान्त्रिक परिक्षण गर्न समेत प्राविधिक टोली खटाएको छ ।

यस्तै उपत्याकाबाट यात्रुहरु बाहिरिदा मुख्य नाकाहरुमा हुने घण्टौं सम्मको जाम हटाउनलाई र्‍याकर समेत राखिएको महाशाखाले जनाएको छ ।