भारतमा विद्युतीय चुरोटमा बन्देज


नयाँदिल्ली, (एजेन्सी)।भारतको मन्त्रीमन्डलले बिहीबार स्वास्थलाई हुने खतरालाई मध्यनजर राख्दै विद्युतीय चुरोटको उत्पादन, आयात र बिक्रीवितरणमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

वित्त मन्त्री निर्मला सिथारमणले युवाहरूको स्वास्थ्यमा नराम्रो प्रभाव पारेको भन्दै यसमाथि प्रतिबन्ध लगाउन औपचारिक आदेश जारी गरिएको जानकारी दिएकी छिन्।

तर यस चुरोटसँग सम्बन्धित उपकरणको प्रयोगमाथि पनि सो आदेशले प्रतिबन्ध लगाउने वा नलागाउने भन्ने चाहिँ स्पष्ट भइसकेको छैन।

भारतमा १० करोडभन्दा बढी वयस्क धुमपानकर्ता रहेकाले विद्युतीय चुरोट उत्पादन कम्पनीका लागि निकै ठूले बजारको सम्भावना रहेको छ।

निकोटिन, पानी अन्य घुलन तत्व र सुगन्ध मिसाइएको वाफ तान्ने यस्ता चुरोटले साँच्चीकै चुरोट तान्नेहरूलाई कूलत छाड्न मद्दत गर्ने बताइए तापनि स्वास्थसम्बन्धी यसको पूर्ण विश्वसनीयता थाहा हुन सकेको छैन। केही समयअघि अमेरिकाको ट्रम्प सरकारले पनि यसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।