आणविक भट्टी काण्डमा आरोपितलाई सफाइ


टोकियो, (एजेन्सी)। फुकिसिमा आणविक भट्टी भयानक भूकम्पलगत्तै आएको सुनामीका कारण क्षतिग्रस्त भएको आठ वर्षभन्दा लामो समयपछि जापानको एक अदालतले बिहीबार व्यावसायिक लापरवाहीका कारण सो भट्टीमा क्षति पुगेको भन्दै अभियोग लगाइएका त्यसका तीनजना तत्कालीन कार्यकारिणी अधिकारीलाई सफाइ दिएको छ।

सन् १९८६ मा तत्कालीन सोभियत संघको चेर्नोविल आणविक दुर्घटनापछिको अर्को सबैभन्दा खतरनाक र ठूलो मानिएको फकुसिमाको घटनालाई लिएर अपराधिक मुद्दा दायर भएकोे थियो।

सन् २०११ मा टोकियो इलेक्ट्रिक पावर (टेप्को) द्वारा सञ्चालित यस भट्टीलाई सुनामीले क्षतिग्रस्त बनाउँदा रेडियो विकिरण फैलिने डरले यसवरपर रहेका चार लाख सत्तरी हजार जनाभन्दा बढी वासिन्दालाई अन्यत्र सुरक्षित गन्तव्यमा लगिएको थियो।

जापानको इतिहासमै निकै भयावह मानिने सो प्राकृतिक प्रकोपमा झण्डै अठार हजार पाँच सय व्यक्तिले ज्यान गुमाउनुपरेको थियो।

तीनजना पूर्वकार्यकारिणी, पूर्वअध्यक्ष ७९ वर्षीय त्सुनेहिसा कात्सुमाता र उपाध्यक्षद्वय ६९ वर्षीय साकाय मुतो र ७३ वर्षीय इचिरो ताकेकुरोलाई अभियोग लगाइएको थियो।

सो भट्टीमा आणविक चुहावटका कारण एकजनाको तत्कालै र अन्य ४० जनाभन्दा बढीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो।

सोही भट्टीमा हाइड्रोजन विस्फोट हुँदा १३ जना मानिस घाइते भएका थिए। यदि दोषी ठहर भएको भए तिनीहरूलाई जनही पाँच वर्ष लामो कारावास सँजाय हुन सक्थ्यो।