तालिवानद्वारा अस्पतालमा विस्फोट गराउँदा १५ मारिए


कावुल, (एजेन्सी)।अफगानिस्तानको दक्षिण भागमा पर्ने एउटा अस्पतालमा तालिवान लडाकूहरूले बिहीबार विस्फोटक पदार्थ लादिएको एउटा ट्रक विस्फोट गराउँदा कम्तिमा पन्ध्रजना मानिसको ज्यान गएको सुरक्षा श्रोतले जनाएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार कालात शहरमा भएको यस आक्रमणमा मारिनेमा अधिकांश चिकित्सक र बिरामी रहेका छन्। त्यसैगरी अफगानिस्तानको पूर्वीभागमा इस्लामिक स्टेट लडाकूहरूमाथि लक्षित गरी सरकारी फौजबाट भएको हवाई हमलामा कम्तिमा अन्य पन्ध्रजना सर्वसाधारण मारिएका छन्।

बीबीसीका अनुसार गत महिनामात्र अफगानिस्तानमा ४ सय ७३ जना सर्वसाधारण मारिएका छन्। रक्षामन्त्रालयका एकजना वरिष्ठ अधिकारीले शक्तिशाली बम राखेर ल्याइएको एउटा मिनी ट्रक कालातस्थित अस्पतालनजिक विस्फोट गराइएको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई जानकारी दिएका छन्।

यो कावुल प्रान्तको प्रमुख अस्पताल हो। तालिवान समूहले भने अस्पताल नजिकको सरकारी गुप्तचर कार्यालयलाई लक्षित आक्रमण गरिएको दाबी गरेको छ।यस घटनामा मारिनेको यकिन संख्या भने अझै पुष्टि भइसकेको छैन।

प्रान्तिय परिषद्ले कम्तिमा २० जना मारिएको र अन्य झण्डै १ सयजना घाइते भएको जनाएको छ। प्रत्यक्षदर्शीहरूले मारिने महिला तथा बालबालिका पनि रहेको बताएका छन् ।

अघिल्लो दिन मात्र अफगानिस्तानमा संघर्षरत लडाकू समूह तालिवानले यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा पुनः शान्ति वार्ता थालनी गर्न चाहेको खण्डमा आफ्नो तर्फबाट सँधैं ढोका खुल्ला रहेको बीबीसीलाई जानकारी दिएको छ।

बीबीसीलाई महत्वपूर्ण अन्तर्वार्ता दिने क्रममा तालिवानका प्रमुख वार्ताकार सेर मोहमद अब्बास स्तानिक्जाइले अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक मात्र विकल्प भनेकै वार्ता भएको बताएका छन्।

एक साताअघि मात्र ट्रम्पले तालिवानसँगको वार्ता मृत अवस्थामा पुगेको दाबी गरेका थिए। यसै महिनाको शुरुमा अमेरिका र तालिवान अफगानिस्तानको अठार वर्ष लामो युद्ध अन्त्यका लागि सम्झौताको नजिक पुगिसकेका थिए।

ट्रम्पले ८ सेप्टेम्बरमा भेटघाटका लागि वरिष्ठ तालिवान नेताहरू र अफगानी राष्ट्रपति असरफ घानीलाई अमेरिकाको क्याम्प डेविडमा आमन्त्रण गरेका थिए।

तर ६ सेप्टेम्बरमा अफगान राजधानी कावुलमा तालिवानबाट भएको आक्रमणमा एकजना अमेरिकी सैनिक र अन्य एघारजना व्यक्तिको ज्यान गएपछि ट्रम्प अचानक वार्ताबाट पछि हटेका थिए।