अशक्त प्रहरीलाई स्कुटर


काठमाडौं, (नेस)।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त अशक्त प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधानकार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभयो।

कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई अशक्तताका कारण हिँडडुल गर्न कठिन भएका पूर्वप्रहरी निरीक्षक रामबहादुर चन्द र केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त स्कुटर हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले प्राप्त सवारी साधनलाई भरपुर उपयोग गरी जीवन अझै सार्थक बनाउन आग्रह गर्दै समस्या परेको बेला सहयोग गर्न संगठन तयार रहेको बताउनुभयो।

अशक्त अवस्थामा पनि हिम्मतका साथ गरेको संघर्ष प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘तपाईंहरूको आगामी दिन शुभ रहोस्।’

नेपाल प्रहरीले आफ्ना सदस्यहरूको पीर, मर्कालाई सम्बोधन गर्ने प्रयासस्वरूप प्रहरी कल्याण कोषमार्फत विभिन्न सेवा सुविधा प्रवाह एवम् कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

सो क्रममा प्रहरी कल्याण कोषले आर्थिक वर्ष २०७५ र ०७६ को वार्षिक कार्यक्रमअनुसार ३ थान चारपाङ्ग्रे स्कुटर खरिद गरी निःशुल्क उपलब्ध गराएको हो।

उक्त स्कुटरमध्ये १ थान जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक देवी नेपालीलाई प्रदान गरिनेछ।