नेपाल समाचारपत्र, (बझाङ)।बझाङको साइपाल गाउपालिका–१ घर भएकी वर्ष २४ की रमादेवी बोहरालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
तीन दिनदेखि सुत्केरी बेथा लागेर शिशु जन्माउन नसकेपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरले काडाँ स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल ल्याएको छ।
बोहरालाई एम्बुलेन्सबाट अस्पतालमा पुर्याइएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ। उनको उपचारमा संलग्न डाक्टर सन्दीप ओखेडाले बोहराको रक्तश्राव भइरहेकोले अहिले तत्काललाई बोहराको उपचार जिल्ला अस्पतालमा गरिने जानकारी दिनुभएको छ।
बझाङको सबैभन्दा विकट उत्तरी क्षेत्रमा रहेको साइपाल गाउँपालिका सदरमुकाम चैनपुरबाट हप्ता दिनको पैदल दुरीमा पर्छ।
साइपाल गाँउपालिकास्थित स्वास्थ्य संस्थामा पर्याप्त स्रोतसाधन नभएको र सुत्केरीको अवस्था गम्भीर भएकोले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ।
जिल्लाका अति दूर्गम साइपाल गाँउपालिकामा सुत्केरी बेथा लागेका महिला तथा अन्य जटिल प्रकृतिका बिरामीले समस्या भोग्दै आएका छन्।
सडक सञ्जालसँग जोडिन नसकेको साइपाल गाउँपालिकाबाट सदरमुकामसम्म बिरामी पुर्याउन धेरै अप्ठेरो हुने गरेको स्थानीयले बताएका छन्।











प्रतिक्रिया