श्रीशान्ति माविले मनायो सत्यमोहनको जन्मशताब्दी


नेपाल समाचारपत्र, ललितपुर।वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी अवसरमा श्री शान्ति माविले जिल्लाव्यापी सत्यमोहन जोशी रनिङ सिल्ड हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ।

जोशीको जन्म शताब्दी विभिन्न कार्यक्रम गरेर मनाउन क्रममा सो प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ। जोशी सोही विद्यालयका संस्थापकमध्ये एक हुनुहुन्छ।

जोशीको अगुवाइमा २००७ सालमा सो विद्यालय स्थापना भएको थियो। सो प्रतियोगितामा पदमप्रकाश मावि प्रथम, रुद्रायणी मावि द्वितीय, प्रभात मावि तृतीय र आदर्श कन्या मावि सान्त्वना भएका छन्।

सो प्रतियोगितामा ललितपुरका १७ सार्वजनिक विद्यालय सहभागी थिए। उत्कृष्ट चार स्थान ओगट्ने र सहभागी विद्यालयलाई एक समारोहका बीच वरिष्ठ संस्कृतिविद् जोशीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

समारोहमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले २००७ सालको राजनीतिक क्रान्तिपछि शिक्षाको विस्तार गर्न विद्यालय स्थापना गरिएको बताउँदै विद्यालय पढेर धेरै मानिस शिक्षित भएकोमा गौरवको महशुस भएको बताउनुभयो।

उहाँले थुप्रै मान पदवी पाएकोमा भन्दा पनि आम मानिसहरू शिक्षित बनाउन थोरबहुत योगदान पुर्याउन सकिएकोमा आफूलाई बाँच्नुको गौरवको महशुस भएको बताउनुभयो।

जोशीले किसान समुदायको बाहुल्य रहेको सो स्थानमा शिक्षित बनाउने उद्देश्यले विद्यालय स्थापना गरिएको स्मरण गर्नुभयो।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सिंगो राष्ट्रको जीवनमा संस्कृतिविद् जोशी एक महत्वपूर्ण व्यक्तित्व रहनुभएको चर्र्चा गर्दै जोशी स्वयम्ले स्थापना गर्नुभएको विद्यालयमा आउन पाउँदा आफूलाई धेरै खुसी लागेको बताउनुभयो।

उहाँले स्थानीय जनताको भावना बुझेर सरकारी प्रशासनलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
समारोहमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीको सभापतित्वमा सम्पन्न सो समारोहमा नगर शिक्षा अधिकारी महेन्द्र क्षेत्री र प्रधानाध्यापक हरिदेव यादवले सार्वजनिक विद्यालयको गुणस्तरीयता बढाउन गर्र्नुपर्ने कार्यको सम्बन्धमा केन्द्रित गर्दै आ–आफ्नो भनाइ राख्नुभयो।