काभ्रेबाट काठमाडौं पुग्न साढे ८ घन्टा


मोतीराम तिमल्सिना, काभ्रे। लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकोप्टर खराब मौसमका कारण काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेको साढे ८ घन्टापछि राजधानी पुगेका छन्।

बिहान ८ बजे एक्कासी हुस्सु बढेर भिजिबिलिटी कम हुँदा पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा चारवटा हेलिकोप्टर अवतरण भएका थिए।

‘लुक्लाबाट काठमाडौंका लागि ९ वटा हेलिकोप्टर उडेका रहेछन्’, पाँचखाल नगरपालिका–२ का अध्यक्ष हरि खतिवडाले भन्नुभयो– ‘२ वटा बिहान सबेरै काठमाडौं प्रवेश गरिसकेको, चारवटा पाँचखालमा आकस्मिक अवतरण भएको र तीनवटा सिन्धुलीको नेपालथोकमा अवतरण भएका रहेछन्।’

साढे ८ घण्टापछि दिउँसो साढे ४ बजे काठमाडौंका लागि हेलिकोप्टरहरू उडेको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिनुभयो।

साताअघि लुक्ला पुगेको पर्यटक टोली मंगलबार बिहानै राजधानी फर्किएको थियो। भारत, कोस्टारिका, यूकेलगायतका देशबाट पर्यटक उक्त स्थानमा पुगेका थिए। पाँचखालमा अवतरण भएका चारवटै हेलिकोप्टरमा १७ जना यात्रुु थिए।

‘बिहान ८ बजे हेलिकोप्टर दुर्घटना भएको खबर आयो’, खतिवडाले भन्नुभयो– ‘तत्काल बुझ्दा सुरक्षाका लागि अवतरण गरिएको रहेछ। सशस्त्र, जनपथ प्रहरीलाई खबर गरी तत्कालै उद्धारका लागि खटियौं।’

अवतरण गरिएको स्थाननजिकै रहेका महेश आचार्य र साधुराम सापकोटाको परिवारले अलपत्र परेका यात्रुलाई निःशुल्क खाना खुवाएको अध्यक्ष खतिवडाले बताउनुभयो। स्थानीयको सहयोग र सद्भावप्रति यात्रुले आभार व्यक्त गरेको खतिवडाले बताउनुभयो।

पाँचखाल नगरपालिका–२ जोरपाटीमा तीनवटा र हर्सेमा अर्काे एउटा हेलिकोप्टर अवतरण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डीएसपी गिरीले बताउनुभयो।

मनाङ एयरका दुईवटा, सिम्रिक, कैलाश एयर गरी चारवटा हेलिकोप्टर धान खेतमा अवतरण गरेका हुन्। ४ चालकसहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

बिहान ११ बजे काठमाडौंका लागि उडेको सिम्रिक एयरको हेलिकोप्टर ९ किलोमिटर उडेर पुनः पाँचखाल नगरपालिका–६ ढुंगानाबेंसीमा अवतरण गरेको थियो।

उक्त हेलिकोप्टरका पाँचजना यात्रुलाई पाँचखाल नगरपालिकाको सवारीसाधनमा काठमाडौं पुर्याइएको थियो।
यस्तै काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा आकस्मिक अवतरण गरेका तीनवटा हेलिकप्टर पनि साढे ८ घण्टापछि उडेका थिए।