शान्ति सेनामा जाने सिपाहीको भत्ता बढ्यो, मासिक १ लाख २७ हजार रुपैयाँ पाउने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ।

सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय सेनाले गरेको हो।

सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर (१ लाख २७ हजार रुपैयाँ) कायम गर्ने निर्णय गरेको हो।

बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि गरेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर भत्ता पाउने गरेका थिए। अब एक हजार ३९९ अमेरिकी डलर पाउनेछन्।

वृद्धि गरिएको भत्तादर असोज १४ (अक्टुबर १) देखि लागू हुने नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले ११ देशका १२ मिसनमा ५ हजार ९५ जना सैनिक शान्ति सैनिकका रूपमा कार्यरत छन्।

विश्वका ४३ वटा मिसनमा अहिलेसम्म लाख २७ हजार ३९० जना नेपाली सैनिक गएका छन्। द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा खटिएक ६५ जना नेपाली शान्ति सैनिक ज्यान गुमाएका छन् भने ६६ जना गम्भीर घाइते भएका छन्।

शान्ति सैनिकमा योगदान गरेबापत् संयुक्त राष्ट्र संघबाट नेपाली सेनाले पाउने रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको हो।