भारतमा पर्यटक डुंगा पल्टियो


मुम्बई, (एजेन्सी)।भारतको आन्ध्र प्रदेश राज्यको गोदावरी नदीमा एउटा पर्यटक डुंगा पल्टिँदा कम्तिमा १२ जना मानिसको ज्यान गएको तथा अन्य २० जनाभन्दा बढी हराइरहेको प्रहरीले सोमबार जनाएको छ।

करिब ६० जना मानिस बोकको सो डुंगा आइतबार दक्षिणी राज्यको एक लोकप्रिय पर्यटकीय स्थलतर्फ जाने क्रममा एउटा विशाल डुंगामा ठोकिएको प्रहरीले पीटीआई समाचार निकायलाई जानकारी दिएको छ।

सरकारी अधिकारीहरुले २६ जना व्यक्तिलाई सकुशल उद्धार गरिएको बीबीसी तेलगुलाई बताएका छन्। उद्धार टोलीले डुबेका व्यक्तिहरुको शव खोजिरहेका छन्।

यस दुर्घटनामा बाँच्न सफल पनि आफन्त गुमाउनुपरेकोमा अलापविलाप गरिरहेका छन्। बाँच्न सफल माधवी लाथा नामक एक महिलाले आफ्ना पति र सन्तान गुमाएकी छिन्।

उनले तिनीहरुको बदलामा बरु आफैं मरेको भए हुने भन्दै विलौना गरेकी छिन्। यस राज्यका मुख्यमन्त्री जगन मोहन रेडीले स्थानीय अधिकारीलाई सो क्षेत्रका सम्पूर्ण डुंगा सेवा तत्कालै स्थगन गर्न निर्देशन दिएका छन्।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत सम्पूर्ण पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। पर्यटन मन्त्रीले सो डुंगा बिनाअनुमति सञ्चालनमा रहेको पुष्टि गरेका छन्।