सपनामा हीराको औंठी निलिएछ


वासिङ्टन, (एजेन्सी)।निद्रामा आफ्नो इन्गेज्मेन्ट औँठी फुकालेर निल्न पुगेकी एक अमेरिका महिलाको सल्यक्रिया गरी पेटबाट औंठी झिकिएको छ। २९ वर्षीया जेन्ना इभान्स नामक ती महिलाले आफूले दुस्वप्न देखेका कारण यो दुर्घटना भएको खुलाएकी छिन्।

उनले सपनामा आफू र आफ्नो मंगेतर बोब्बी तिव्र गतिमा रहेको ट्रेनमा सवार रहेको देखेको र गुन्डाहरुबाट औंठी जोगाउन त्यसलाई निल्न बाध्य भएको प्रहरीसमक्ष बयान दिएकी छिन्।

क्यालिफोर्नियास्थित घरमा अचानक सपनाबाट ब्युँझिँदा उनले साँच्चै हीराको आंँैठी हातबाट गायब भइसकेको पाएकी थिइन्। त्यतिन्जेलसम्म उनलाई सपनाको घटना पूरै याद भएकाले उनले बोब्बीलाई तुरुन्तै उठाइन् र दुवै तुरुन्तै अस्पताल पुगे।

इभान्सले डाक्टरलाई घटना सुनाउँदा आँसु र हाँसो दुवै रोक्न सकेकि थिइनन्। एक्सरेमा उनको पेटभित्र २ दशमलव ४ क्यारेटको हीराको औंठी स्पष्ट देखिएपछि डाक्टरले त्यसलाई भगवानको नाममा त्यहीँ छोड्नु बुद्धिमानी नहुने बताएका थिए।

तर शल्यक्रियाबाट सो औंठी निकाल्नुअघि सान डियागो निवासी उनलाई मृत्यु भएको खण्डमा आफैं जिम्मेवार हुने सहमतिपत्रमा डाक्टरले हस्ताक्षर गर्न लगाएका थिए।

इभान्सले मर्ने पो हो कि भन्ने पिरले शल्यक्रिया हुनुअघि पनि बेस्सरी रोएको र शल्यक्रिया सफल भएपछि होशमा आउँदा पनि खुसीले रोएको एबीसी न्युज च्यानललाई बताएकी छिन्।