चार स्थानीय तहमा ओखर खेती विस्तार गरिने


किरण धामी, दार्चुला। दार्चुला जिल्लाका चार स्थानीय तहमा यस वर्ष ओखर खेती विस्तार गरिने भएको छ।
२०८२ साल सम्ममा जिल्लाको कुल क्षेत्रफलको ५ सय हेक्टर क्षेत्रफलमा स्याउ र ओखर खेती विस्तार गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, स्याउजोन दार्चुलाका प्रमुख विष्णुप्रसाद ओझाले बताउनुभएको छ।

सोही योजनाअनुरुप यस वर्ष दार्चुला जिल्लाका महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन र लेकम गाउँपालिकामा ओखर खेती विस्तारको लक्ष्य रहेको इकाइ प्रमुख ओझाले जानकारी दिनुभयो।

ओझाका अनुसार जिल्लाको महाकाली नगरपालिका–३, ६ र ९, शैल्यशिखर नगरपालिका–१, ५, ६, ७ र ८, मालिकार्जुन गाउँपालिका–२ र ५ र लेकम गाउँपालिका–४ र ५ मा ओखर खेतीको मुख्य सम्भावना रहेको हो तर हालसम्म जिल्लाको कुल क्षेत्रफल मध्ये अहिले १ सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको उहाँले बताउनुभयो।

जिल्लाका ब्याँस, दुहुँ, नौगाड, मार्मा र अपी हिमाल गाँउपालिकामा स्याउ खेती भइरहेको उहाँले बताउनुभएको छ।
व्याँस गाउँपालिका–१, २ र ३, दुहुँ गाउँपालिका–१ र २, नौगाड गाउँपालिका–१ र २, मार्मा गाउँपालिका–६ र अपी हिमाल गाउँपालिका–१, ४ र ५ मा स्याउ उत्पादन हुन सक्ने सम्भावना रहेको कार्यालय प्रमुख ओझाले जानकारी दिनुभयो।