जंगलमा आहाराको अभाव गाउँ पसेको भालुले आक्रमण गर्दा एक गम्भीर घाइते



डोटी, (नेस)।डोटीको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौंका ४६ वर्षीय काले साउद जंगली भालुको आक्रमणमा परी गम्भीर घाईते भएका छन्।

बाख्रा चराउन घर नजिकैको जंगलमा गएको बेलामा उहाँलाई जंगली भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भालुको आक्रमणबाट साउदको कान, घाटी, हात नाक र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो।

भालुको आक्रमणमा परी गम्भीर घाइते भएका साउदलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीय चक्रबहादुर कठायतले बताउनुभयो।

कठायतले भन्नुभयो, ‘भालुको आक्रमणबाट साउद अचेत अवस्थामा थिए, जिल्लामा उपचार हुन नसक्ने भएपछि बयलपाटा लगिएको हो।’

डोटीमा जंगली भालुको आक्रमणमा परी अहिलेसम्म २४ जना स्थानीय घाइते भएका छन् भने ६ जनाको ज्यान गइसकेको प्रहरी तत्थ्यांकमा उल्लेख गरिएको छ।

पूर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट वर्षेनी जंगली भालुलगायतका जनावर गाउँ घरमा आहाराका लागि आउने र स्थानीयलाई आक्रमण गर्ने गरेको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्