शिशु जन्माउनासाथ सुत्केरीको मृत्यु



बैतडी, (नेस)। बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ गाउँसल्लाका दानसिंह चाँडकी श्रीमती गौमती चाँड रहेको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले बताउनुभयो।

स्थानीय सामुदायिक स्वास्थ्य इकाइ तेर्छाबाटामा शिशु जन्माएर गौमतीको मृत्यु भएको हो। सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा आएकी गौमतीले आइतबार अपराह्न शिशुलाई जन्म दिनुभएको थियो।

शिशु जन्माउने बितिक्कै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। जन्मिएको शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ।

मृतक महिलाका श्रीमान दानसिंह रोजगारीको लागि भारतमा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्