काठमाडौंको प्रशंसा गर्दै फर्किए पाहुना


काठमाडौं, (नेस)।काठमाडौं उपत्यकाको सांस्कृतिक परिचय र जीवन्त चालचलनको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नगरका प्रमुख र प्रतिनिधि स्वदेश फर्केका छन्।

सो क्रममा सोमबार चीनको ल्हासा नगरका प्रमुख गुहेओ गुहेआ चाइना र भारतको उत्तर दिल्ली नगरका प्रमुख सरदार अभतार सिंह, लान्जाउ कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ सिओहाङ स्वदेश फर्किनुभएको छ। उहाँलाई महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले विदाइ गरेको थियो।

अन्तराष्र्टि«य सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार भुटानको थिम्पु नगरका प्रमुख बिहीबार फर्कनुहुने छ। इन्द्राजात्रा अवलोकन गर्न महानगरको निमन्त्रणामा ५ देशका ११ नगरबाट ४ मेयर, उपमेयर–उपाध्यक्षसहित ४१ जना पाहुना आउनुभएको थियो।

स्वदेश फर्कदै गर्दा ल्हासाका मेयर गुहेआले जात्रामा कसैले नबोलाई यत्ति धेरै मानिस भेला भएको देख्दा आफूलाई धेरै आनन्द आएको तथा जात्रा हेरिसकेपछि फेरि नेपाल फर्किएर आउने इच्छा जगाएको बताउनुभयो।

आफ्ना नगरवासीलाई जात्राको रमाइलो सुथे उहाँको भनाइ थियो। उत्तर भारतका मेयर सरदार अभतार सिंहले भन्नुभयो– ‘काठमाडौंका जनता धेरै खुसी रहेछन्। यो खुसी हेर्न म समय मिलाएर फेरि आउँछु।’

जात्रा अवलोकन गर्न चीनको सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आएको थियो।

इन्द्रजात्राको गरिमालाई अन्तर्राष्ट्रियकरण गर्न महानगरले यस वर्षको इन्द्रजात्रा हेर्न भगिनी सम्बन्ध भएका सबै सहरका प्रमुख र प्रतिनिधिलाई निम्ता गरेको थियो।

महानगरको यो निम्ता स्वीकार गरेर उहाँहरू पर्व अवलोकन गर्न आउनुभएको हो। २६ गते काठमाडौं आएको टोलीले सो दिन महानगरले स्वागत कार्यक्रम आयोजना गरेको थियो २७ गते इन्द्रजात्राको रथयात्रा हुने तथा अन्य सम्पदा स्थलको भ्रमण अवलोकन गराइएको थियो।

टोलीले बःबही, ब्रह्मचक्र महाविहार, मञ्जुश्रीनक महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरुगणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरव हुँदै वसन्तपुर पुगेको थियो।

त्यसपछि वसन्तपुरको श्वेतभैरव अगाडिको डवलीमा आयोजना गरिएको फोटो प्रदर्शनी उद्घाटन गरिएको थियो। २८ गते प्रतिनिधिमण्डलाई काठमाडौं उपत्यकालाई टाढाबाट देखाउन चन्द्रागिरी, स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालय र स्वयम्भू स्तुप क्षेत्रको अबलोकन भ्रमण गरेका थिए।

भदौ २९ गते उहाँलाई भक्तपुर र पाटन दरबार स्क्वायरको अबवलोकन गराइएको थियो। अस्ति आइतबार राष्ट्रिय सभा गृहमा विदाइ समारोह आयोजना गरिएको थियो।

समारोहका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउन नगरका प्रमुखमार्फत नागरिकलाई सन्देश पठाउनुभयो।