संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक–कर्मचारीको माग सम्बोधन गर्छ ः सभामुख


नेपाल समाचारपत्र,काठमाडौं। सभामुख कृष्णबहादुर महराले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीको समस्या समाधान गर्ने बताएका छन्। शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरूलाई सिकाइ सुधारमा केन्द्रित हुन आग्रह गरे।

एकीकृत अखिल नेपाल शिक्षक संगठन (यूएनटो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिबार आयोजना गरेको उत्कृष्ट शिक्षक, विद्यालय सम्मान तथा मावि तहस्तरीय नृत्य प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले गुणस्तरीय शिक्षा समृद्ध मुलुकको प्रवेशद्वारसमेत भएको दाबी गरे।

कार्यक्रममा पूर्वशिक्षामन्त्री एवं नेकपाका नेता गंगालाल तुलाधरले शिक्षकहरू संगठित हुँदै माग सम्बोधनका लागि दबाब दिनुपर्ने बताए। शिक्षामा २० प्रतिशत बजेट सुनिश्चितता र सिकाइ सुधारका सवालमा शिक्षकहरूले सरकारलाई संगठितरुपमा दबाब दिनुपर्ने तुलाधरको भनाइ थियो।

यसै गरी, पूर्वमन्त्री एवं नेकपाका नेता अग्नीप्रसाद सापकोटाले राजनीतिक क्रान्तिको चरण सकिएकाले शिक्षकहरूको भूमिका अब शैक्षिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताए।

राजनीतिक संक्रमण सकियो, अब समृद्ध मुलुक निर्माणका लागि सिकाइ सुधारमा सबै जुट्नुको विकल्प नभएको सापकोटाको भनाइ थियो। कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक कर्मचारीका समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए।

शिक्षक महासंघ सबैखाले शिक्षकका समस्या समाधान र शैक्षिक सुधारको अभियानमा प्रतिबद्ध रहेकामा थापाको जोड थियो। एकीकृत अखिल नेपाल शिक्षक संगठन (यूएनटो) का अध्यक्ष शंकर अधिकारीले उत्पीडित शिक्षक कर्मचारीका माग सम्बोधन गर्ने गरी संघीय शिक्षा ऐन नआए त्यो आफूहरूलाई मान्य नहुने चेतावनी दिए।

शिक्षकमाथिको कुनै पनि हस्तक्षेप यूएनटोलाई अमान्य रहेको भन्दै शिक्षकका समस्या समाधान नहुने गरी आएको संघीय शिक्षा ऐन च्यात्न शिक्षक महासंघ र यूएनटो तयार रहेको अधिकारीले स्पष्ट पारे।