समाचार टिप्पणी: भारतका सिद्धार्थ बाट नेपाली बैंकले सिक्नुपर्छ



कपिल काफ्ले, काठमाडौं । गत साता भारतको दक्षिणी शहर मंगालुरुमा एक उद्यमीले बैंकको अति दबाबका कारण आत्महत्या गरे । मुलुकका विभिन्न स्थानमा एक हजार आठ सय क्याफे कफी डे सेन्टर सञ्चालन गरेका भीजी सिद्धार्थ नामका व्यवसायीको आत्महत्याले भन्दा पनि उनको मार्मिक टिपोटले सबैलाई भावविह्वल बनायो ।

इकोनोमिक टाइम्सका अनुसार उनले आत्महत्या गर्नुअघि लेखेका छन्, ‘मैले इमान्दार भएर व्यवसाय गरें, कसैलाई ठग्न र ढाँटेर पैसा कमाउन चाहिनँ, मैले सकेको गरें, योभन्दा बढी दबाब सहन सकिनँ, सधैंका लागि बिदा !’

सिद्धार्थले आफूले आत्महत्या गरेर शुभचिन्तकलाई तत्कालका लागि निराश बनाएपनि बैंक, वित्तीय संस्था र आयकर कार्यालयले दिएको दबाबको घनत्व बुझेपछि र इमान्दार भएर व्यवसाय चलाउन चाहने मित्रको विकल्परहित अवस्थाको निर्णय भन्ने ठानेर माफी दिनुहुने विश्वास लिएको उल्लेख गरेका छन् । ‘म अझै बाँच्न चाहन्थें, तर योभन्दा बढी दबाब सहन सकिनँ, एक दिन मलाई अवश्य बुझिदिनुहुनेछ’ ६० वर्षे व्यवसायीले माफ गर्नुहोला भन्दै ‘सुसाइट नोट’ अन्त्य गरेका छन् ।

अफिसबाट निस्केर सिद्धार्थले घर जानुको साटो चालकलाई गाडी मंगालुरु शहरको दक्षिणी क्षेत्रमा रहेको पुलतिर लैजान भने, भारतीय समाचारपत्रहरुका अनुसार, पुलमा पुगेपछि गाडी रोक्न लगाएर उनी पैदल अघिबढे । यो आइतबार (साउन १२) को घटना थियो, एकै चोटि मंगलबार उनको लाश र आत्महत्या नोट आफन्तहरुले फेला पारे ।

समाचार टिप्पणी

क्याफे कफी डे भारतमै ‘चेन’ सञ्जाल भएको यस प्रकारको सबैभन्दा ठूलो उद्योग हो । यसका संस्थापक तथा सञ्चालक सिद्धार्थलाई बाहिरबाट हेर्दा असफल मानिसका रुपमा कसैले देखेको थिएन । साथमा माइण्ड ट्री लिमिटेड नामको उनको सूचना प्रविधि कम्पनी पनि थियो । ‘नाफा कमाउनसक्ने सही व्यवसाय छनोट गर्न सकिनँ’ भनेर साथीहरुसँग गुनासो गर्ने सिद्धार्थलाई नजिकबाट चिन्नेहरुले बैंक र वित्तीय संस्थाहरुले तत्काल ऋण र किस्ता चुक्ता गर्न धर्ना दिएको, आयकर कार्यालयको दबाब बढेको र शेयर बेचेर ऋण चुक्ता गर्न खोज्दा ‘पहिला ऋण तिर अनि मात्र शेयर बेच्न छुट पाउँछौं’ भनेर खोरमा पारेका कारण उनी आत्महत्या गर्न बाध्य भएका हुन् भनेका छन् ।

‘सिद्धार्थ माइण्ड ट्री’ को शेयर बेचेर ऋण तिर्न चाहन्थे’ पत्रपत्रिकाले उनका साथीहरुको भनाइ भन्दै उद्धृत गरेका छन् । व्यापारीहरु सीमित सम्भावनामा पनि ठूलो रकम लगानी गर्न बाध्य छन्, कठिन मेहनत गर्छन्, घर–परिबार नभनी खट्छन्, तर यसरी कमाएको रकम वित्तीय संस्थाहरुले बसी–बसी हातपार्छन्, उनका व्यवसायी साथीहरुले भनेका छन्, ‘व्यवसायीले उद्योग चलाएर देशको सेवा गरेका हुन्छन्, आर्थिक समृद्धिमा योगदान गरेका हुन्छन्, तर राज्यले उनीहरुलाई तुच्छ व्यक्तिका रुपमा दबाबमा पारेर सताउँछ’, ऋण र कर उठाउने शैलीका सम्बन्धमा सिद्धार्थका साथीहरुको भनाइ छ ।

साउन १३ गते आत्महत्या गर्न बाध्य सिद्धार्थको ‘सुसाइट नोट’ मा भनेजस्तै उनी अत्यन्त इमान्दार र संवेदनशील व्यक्ति थिए । २४ वर्षअघि क्याफे कफी डे खोलेका उनलाई सबैले अत्यन्त सादा र सरल मिजासका व्यक्ति भनेका छन् । साढे तीन अर्ब अमेरिकी डलरबराबरको सम्पत्तिका मालिक सिद्धार्थले ‘सफल वर्ष व्यवसायी’ का रुपमा सन् २००२ र २०११ मा राष्ट्रिय पुरस्कार पनि पाएका थिए । तर, यस सफलताका लागि उनको थाप्लोमा एक हजार दुई सय करोड भारुको ऋण थियो । वार्षिक २८ हजार टन कफी निर्यात गर्ने उनले १३ वर्षयताकै सबैभन्दा बढी मन्दी सहनुप¥यो । उनले आदित्य विरला फाइनान्स, कोटाक महिन्द्रा बैंक, आरबीएल बैंक र थुप्रै फाइनान्स र निजी संस्थाहरुबाट ऋण चलाएका थिए ।
भारतमा ऋणकै कारण ठूलो संख्यामा कृषकहरुले आत्महत्या गरेको खबर यसअघि नै सार्वजनिक भइसकेका छन् ।

हामी गम्भीर छौंः राष्ट्र बैंक
नेपाल समाचारपत्रले नेपाली बैंक तथा वित्तीय संस्थाले पनि ऋणीहरुमाथि दबापूर्ण व्यवहार गरेको, व्याज दर नीति न्यायिक नभएको र यसले अन्ततोगत्वा मुलुकको औद्योगिक क्षेत्र नै प्रभावित हुने विषलाई गत बिहीबारदेखि उठाउँदै आएकोमा नेपाल राष्ट्र बैंकले चासो देखाएको छ ।

नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले नेपाल समाचारपत्रमा सम्पर्क गरेर भन्नुभयो, ‘नागरिकलाई सचेत गराउने कुरामा तपाईंले उठाएका विषयहरु स्वाभाविक भएपनि ‘डुबायो बैंकले, उकास्छौं हामीले’ भन्ने शब्दप्रति हाम्रो आपत्ति छ ।’

कार्यकारी निर्देशक ढकालले राष्ट्र बैंकमा गुनासो सुनुबाइ युनिट नै रहेको, ऋणी वा सेवाग्राहीका गुनासा भए पत्रिकाको अफिसमा नभएर केन्द्रीय बैंकमा आउनुपर्ने, त्यो जिम्मेबारी आफ्नो भएको धारणा राख्नुभयो । ‘बैंकिङ क्षेत्रका कमजोरीप्रति हामी गम्भीर छौं, यसलाई सुधार गर्ने प्रयास भइरहेको छ’ भन्ने कार्यकारी निर्देशकले नेपाल समाचारपत्रले गुनासो लिने कार्यालय नै खोलेकोमा पनि आपत्ति जनाउनुभयो ।

‘उकास्छौं’ का ठाउँमा ऋणी वा सेवाग्राहीका गुनासा सुन्छौं र समस्या समाधानका लागि ‘सघाउँछौं’ भन्ने नै हाम्रो आशय हो, हामीले पाएका गुनासा जम्मा पारेर ल्याउने तपाईंकैमा हो, तर नेपाल समाचारपत्रले गुनासो सुन्ने कार्यालय त खोल्यो–खोल्यो, यो प्रेसको कार्यक्षेत्रभित्र पर्छ, सम्पादकले अखबारका तर्फबाट कार्यकारी निर्देशक ढकाललाई जबाफ दिए ।

ढकाललाई बैंकिङ क्षेत्रका कमजोरीको लामो सूची सुनाउँदा उहाँले त्यसप्रति स्वीकृति जनाउँदै आजका अर्थमन्त्री युवराज खतिवडा गभर्नर भएको बेला ‘फिक्स टर्म लोन’मा बैकले बीचमै व्याजको दर बढाउन नपाउने निर्णय गर्न खोजिएको थियो, तर परिस्थितिले साथ दिएन ।

राष्ट्र बैंकलाई ‘परिस्थिति’ निर्माणका लागि पनि नेपाल समाचारपत्रको पैरवी पत्रकारिताले सघाउने कामना न्यूज पब्लिकेसन्सको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्