सरकारलाई सभामुखको निर्देशन

0
Shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले मधेस र थरुहट आन्दोलनको क्रममा घटेका घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

सरकारले आन्दोलनको क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन् ।

राष्ट्रिय जनता पार्टीले पटक–पटक उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाए पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन । सोमवारको संसद बैठकमा पनि राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेपछि सभामुख महराले पुनः रुलिङ गर्नुभएको हो ।

कानुनमन्त्री भानुभक्त ढकालले यसअघि पनि सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन ।

नेम्वाङको नेतृत्वमा विशेष समिति गठन

प्रतिनिधिसभाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ ।

कांग्रेस र राजपाले विशेष समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान लिएपछि अवरुद्ध संसद हटाउने सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेम्वाङको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, डा.मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत रहनुभएको छ ।

मेरो चरित्र हत्या गरियो: महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो नाम जोडेर चरित्रहत्या गरेकाले माफी माग्न आग्रह गर्नुभएको छ ।
सोमबार संसदलाई सम्बोधन गर्दै उहाँले उक्त आग्रह गर्नुभएको हो ।
महतोले सरकारलाई भ्रमको खेती नगर्न चेतावनी समेत दिनुभयो ।
सरकारले खारेज गरेको ८ जनाको नागरिकताको सूचिमा राजेन्द्र महतो भन्ने व्यक्तिको पनि नाम उल्लेख थियो ।

संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको आरोप लगाउँदै सांसद महतोले प्रश्न गर्नुभयो, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’