अझै पदमै अल्झिए प्राध्यापक

प्राथमिकतामा परेन संघ

0
Shares

रामकृष्ण चापागाई, काठमाडौं ।
संघको महाधिवेशनलाई मझधारमै छोडेर राजनीतिक नियुक्तिमा लागेका प्राध्यापकले अझै पद पाएनन् । प्राध्यापकहरुको साझा संगठन प्राध्यापक संघले एक महिनापछि पनि नेतृत्व चयन गर्न सकेन ।

असार १९ देखि २१ सम्म महाधिवेशन सम्पन्न गर्न खोजेको संघले श्रावण ४ गते निर्वाचन सम्पन्न गरी नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनीक गरेको थियो ।
यसैबीच नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यायले त्रिविबाट अवकास पाएपछि अझ अप्ठेरो सृजना भएको छ ।

सहमतिको नाममा स्थगित भएको मतदान प्रक्रिया अझै शुरु नहुँदा केही प्राध्यापकले प्राध्यापक संघ विघटन गरी तदर्थ समिति गठन गर्ने तयारी थालेका छन् । प्राध्यापक संघमा कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, एमाले निकट प्रगतिशील प्राध्यापक संघ र तत्कालीन माओवादीनिकट राष्ट्रिय प्राध्यापक संगठनको नेतृत्वका बीच भागवण्डा गरी कार्यसमिति निर्वाचित गर्ने सहमति थियो ।

अहिले वैचारिक संगठनको नेतृत्वमा रहेका प्राध्यापकहरु विभिन्न विश्वविद्यालयमा रिक्त पदाधिकारी पद हत्याउन दौडधुपमा लागेका कारणले पनि नेपाल प्राध्यापक संघको निर्वाचनको तिथिमिति थप अन्यौल हुदै गएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाका अनुसार नेपाल प्राध्यापक संघको निर्वाचन प्रक्रियामा अझै सहमति नभएको र निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यायको पनि अवकास भएकोले अझ अप्ठेरोमा परेको जानकारी दिनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघका नेता केशवराज पौडेलले भने शुरु भैसकेको निर्वाचन प्रक्रिया रोकेर तदर्थ समिति बनाएर प्राध्यापक संघ चलाउने योजनामा लागेको आरोप लगाउनुभएको छ ।

अघिवेशनमा प्रजातन्त्रवादी समुहले अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष सहित कार्यसमितिमा ११ जना सहभागि हुने र प्रगतिशिल तथा राष्ट्रिय प्राध्यापक संगठनबाट महासचिव र सचिव दुई पदाधिकारी सहित १० जना कार्यसमितिमा सहभागि हुने सहमतिका साथ श्रावण ४ गते निर्वाचन प्रक्रिया अघि बढेको थियो । कुल २१ जनाको कार्यसमिति रहने प्राध्यापक संघमा अध्यक्षमा सहमतिअनुसार प्रा.डा. वुद्धवहादुर थापा एकजनाको मात्र उम्मेदवारी परेपनि सदस्यमा भने ८ जनाभन्दा बढीको उम्मेदवारी परेको थियो ।

निर्वाचनमा कांग्रेस निकट प्राध्यापकहरुको बढी उम्मेदवारी परेको थियो । प्रजातन्त्रवादी प्राध्यापक संघभित्र जगत् तिमिल्सेना र प्रा. वासुदेव घिमिरे लगायतको एक समूह छ भने अर्कोतर्फ प्रा. प्रकाशसिंह प्रधान, प्रा. गुणनिधि न्यौपाने, प्रा.डा. हरिदर्शन श्रेष्ठ, प्रा. कपिल श्रेष्ठ, त्रिवि प्राध्यापक संघका अध्यक्ष प्रा.डा. वसन्त ढकाल, निवर्तमान अध्यक्ष योगेन्द्र नारायण वरवडरियालगायतको अर्को समूह छ ।

अधिवेशनमा बामपन्थी समूह निर्वाचनमा जान नचाहेको कारण सहमतिमा नेतृत्व चयन गर्न खोजिएको भन्दै प्रजातन्त्रावादी समूहका एक प्राध्यापक भन्छन्— निर्वाचन भयो भने प्रजातन्त्रबादी समूहले नै जित्ने भएकोले सहमति नभए अधिवेशन नै नगर्ने अडानमा प्रगतिशील पक्ष लागेको छ ।

नेपाल प्राध्यापक संघको महाधिवेशनमा सहभागी ३ सय २० महाधिवेशन प्रतिनिधिमध्ये प्रजातन्त्रवादी समूहका १ सय ९० र वामपन्थी र अन्य गठवन्धनका १ सय ३० रहेको बताइएको छ ।