एउटै घरमा २७ वटा सर्प फेला


भद्रपुर(ने.स) । झापाको गौरादहमा एक घरमा २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको हो ।

धेरैजसो सर्पका बच्चा रहेका थिए । गोमन सर्प विषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आशङ्कामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि परिवारको होसहवास नै उडेको थियो । शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका थिए ।

उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मारेर गाडिएको छ । रातभर निन्द्रा नलागेको समेत यो परिवारले जनाएको छ । त्यो भन्दा अगाडि अर्को विषालु करेत सर्प पनि घरमा भेटिएको थियो ।