जलवायु अनुसन्धानमा सरकार गम्भीर छैन



डा. मदनलाल श्रेष्ठ
बरिष्ठ मौसमविद्

हरेक वर्षको मनसुनमा नेपालले ठूलो जनधनको क्षति भोग्न थालेको छ । छोटो अवधिमा भारी वर्षा हुने घटना बढेका छन्, मध्यमस्तरको वर्षामा पनि बाढी, पहिरो र डुबानका घटना बढिरहेका छन् । यही सन्दर्भमा जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञसमेत रहनुभएका डा. मदनलाल श्रेष्ठसँग नेपाल समाचारपत्रकर्मी टीका बन्धनले गरेको कुराकानी ।

गत साता मुलुकका केही भू–भागमा निकै ठूलो पानी प¥यो, वर्षाको प्रकृति परिवर्तन भएर यस्तो भएको हो ?
अंग्रेजी महिनाका जुन, जुलाई, अगस्ट र सेप्टेम्बर महिनालाई दक्षिण एसियाको मनसुन अवधि मानिन्छ । करिव चार महिनाको यो अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ । यी चार महिनामध्येमा जुलाईमा सबैभन्दा बढी वर्षा हुन्छ, यसपटक जुन महिनामा जति पानी पर्नुपर्ने हो त्यति भएन । यसपटक जुलाईमा राम्रै पानी प¥यो तर मनसुनको प्रकृति देशव्यापी रुपमा एकै नासको भने देखिएन । जुलाई महिनाको आधा अवधिमा सिमरामा ६ सय ६१ मिलिमिटर वर्षा भएको छ ।

जबकी जुलाई महिनाभर सिमराको औसत वर्षा ५ सय ८० मिलिमिटर हो । जुलाईमा काठमाडौ उपत्यकाको औसत वर्षा ३ सय ६३ मिलिमिटर हो तर मंगलबार (जुलाई १६ तारिख)सम्मको अवस्था नियाल्दा काठमाडौं ३ सय ३१ मिलिमिटर वर्षा भएको छ । नेपालकै बढी वर्षा हुने क्षेत्र भनेर चिनिएको पोखरामा जुलाई महिनामा ९ सय ४० मिलिमिटर वर्षा हुनुपर्नेमा मंगलबारसम्ममा ३ सय ४८ मिलिमिटर मात्रै वर्षा भएको छ । यही अवधिमा पूर्वको ताप्लेजुङमा २ सय २९ मिलिमिटर वर्षा भएको छ जबकि त्यहाँ जुलाईको औसत ४ सय १६ मिलिमिटर हो । यसले के देखाउँछ भने सबै ठाउँमा भारी वर्षा भएको छैन, तर सबै ठाउँको वर्षा एकनासको छैन र हुँदैन ।

अन्यत्र किन कम वर्षा भएको हो ?
जमिनको हावा वायुमण्डलतर्फ गयो भने हावा चिसो हुन्छ, बादल बन्छ । न्यूनचापीय क्षेत्र र स्थानीय मौसमी प्रभावले वायुमण्डलमा हावा पुगिरहेको हुन्छ, बादल बनिरहेको हुन्छ । मनसुनको समयमा समग्र ‘ग्याङगेटिक बेसिन’ मा न्यूनचापको क्षेत्र (पानी पार्ने प्रणाली) बन्छ, यो क्षेत्र यता उता सरिरहन्छ, कहिले उत्तर जान्छ कहिले दक्षिण जान्छ । गत साता न्यूनचापीय रेखा हाम्रो उच्च पहाडी क्षेत्र आसपासमा आइपुग्यो, त्यसै गरी बंगालको खाडीबाट आउने वायुले न्यूनचापीय रेखालाई झनै माथि धकेल्यो । बंगालबाट आउने वायुमा प्रशस्त जलवाष्पको मात्रा हुन्छ । न्यूनचापीय रेखा हाम्रो पहाडी भू–भागतर्फ सरेको अवस्थामा हामी मनसुन सक्रिय भएको बुझ्ने गर्छौं ।

भारी वर्षा हुनुमा अन्य कुनै कारण पनि छन् कि ?
मनसुन अवधिमा नेपालमा बढी पानी पर्ने तीनवटा ‘पकेट एरिया’ छन् । लुम्लेमा वर्षको पाँच हजार मिलिमिटरभन्दा बढी वर्षा हुन्छ । कास्कीको लुम्ले, अरुण उपत्यकाभन्दा माथिको भेग र ताप्लेजुङ यी तीन क्षेत्रमा बढी पानी पर्छ । मनसुन न्यूनचापीय क्षेत्र विकास हुने र सर्ने प्रक्रिया सधैं एकनासको हुँदैन । उत्तर स¥यो भने हामीकहाँ (नेपालमा) मनसुन सक्रिय हुन्छ, दक्षिणतर्फ स¥यो भने भारतीय भू–भागमा बढी पानी पर्छ । त्यसैले यसपटक मनसुनको शुरुवातमा हामीकहाँ राम्रो पानी परेन । जुलाई महिनाको दोस्रो सातापछि अहिले नेपालको मध्य भेगमा अलि बढी पानी परिरहेको छ, तर यसपटकको पानीको मात्राले विगतको रेकर्ड ब्रेक गरेको छैन । यसपटक सिमरामा बढी पानी परेको पक्कै हो । सन् १९७८ जुलाई महिनामा २४ घन्टाको अवधिमा २ सय ६३ मिलिमिटर पानी परेको थियो ।

कुनै ठाउँमा औसत वर्षा भए पनि जनधनको क्षति निकै हुन थालेको छ किन होला ?
अहिले भइरहेको वर्षा ठूलो होइन, प्राकृतिक भन्दा मानवसिर्जित संरचनाले बाढी र डुबानका समस्या बढ्न थालेका छन्, मानवनिर्मित संरचनाले मध्यमस्तरको वर्षामा पनि परिस्थिति जटिल बन्न थालेको छ । अहिले वर्षाले जहाँ जहाँ क्षति भइरहेको छ, डुवान भइरहेको छ प्राय सबै शहर अव्यवस्थित ढंगमा वस्ती विस्तार भएका क्षेत्रमा समस्या देखिएको छ । पहिला–पहिला टोल वस्तीमा पोखरी निर्माण गरिएको हुन्थ्यो, वर्षाको पानी पोखरीमा जम्मा हुन्थ्यो । जमिनमा सहजै पानी पुनःभरण (ग्राउन्ड वाटर रिचार्ज) हुन्थ्यो । तर अहिले पोखरी र जताततै घर निर्माण भइरहेका छन्, घर र टोलबस्तीको पानी सोझै सडक र ढलमा पठाइन्छ । साँघुरो ढल निकास अनि भएको पनि प्लास्टिक र अन्य फोहोरले थुनिने भएपछि पानीको निकास व्यवस्थित हुन सकेको छैन ।

बागमतीलगायतका खोलानालाको क्षेत्र निकै साँघुरिएको छ, नदीले स्वाभाविक रुपमा आफ्नो बहाव क्षेत्र खोज्छ, त्यही कारणले अहिले शहरी क्षेत्रमा डुबान समस्या देखिएको हो । पहिला–पहिला पनि त काठमाडौंमा १०औं २०औं दिनसम्म निरन्तर पानी परिरहन्थ्यो, तर डुबान समस्या हँुदैनथ्यो । अहिले सामान्य पानी पर्दा पनि काठमाडौंका धेरै भाग डुबानमा पर्ने समस्या छ ।
मेरो विचारमा अहिले वर्षाका कारणले जति पनी जनधनको क्षति हुँदै आएको छ, अधिकतम मानवर्सिजित कारणले नै भइरहेको छ । ९० प्रतिशतभन्दा बढी क्षति मान्छेकै कारणले भइरहेको छ । खोलाले तराईको खेतीयोग्य जमिन कटान गर्नु, बस्ती जलमग्न हुनुमा मानवीय कारण नै देखिन्छ । भारतले एकतर्फी ढंगबाट सीमावर्ती क्षेत्रमा बाँध बनाएकाले तराईमा समस्या बढेको खबर आइरहेको छ ।

तस्वीर: उजोल डंगोल

विगतमा पनि भारी वर्षाले क्षति पु¥याएका कुनै सन्दर्भ छन् ?
२०२५ सालमा तीन दिन तीन रात वर्षा भएको जनधनको ठूलो क्षति भएको कुरा अझै पनि बूढापाकाबाट सुन्न पाइन्छ । मौसम विभाग स्थापना भएपछिको सन्दर्भ स्मरण गर्दा सन् १९९३ जुलाई २०÷२१ तारिखतिर मकवानपुरको कुलेखानी र आसपासको भेगमा २४ घन्टामा अतिवृष्टि भएको थियो । सो भेगमा ५ सय ४० मिलिमिटर वर्षा भएको थियो । वर्षाको सो मात्रा नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा भएको मानिन्छ । जलवायु विज्ञानको भाषामा त्यस्तो प्रकृतिको वर्षालाई ‘क्लाउड ब्रस्ट’ भन्ने गरिन्छ । त्यस बेलाको वर्षाले कुलेखानीको पेनस्टक पाइप बगाएको थियो, तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । एक हजारभन्दा बढी मान्छे मरे, बागमतीको ब्यारेजै बगाएको थियो ।

कुनै क्षेत्र विशेषमा क्लाउड ब्रस्ट हुनुमा जलवायु परिवर्तनको प्रभावका रुपमा बुझ्न सकिन्छ ?
मैले अघि पनि भनिसकँे न्यूनचापीय क्षेत्र जति बढी चलायमान हुन्छ त्यति नै मनसुनी गतिविधि बढ्ने हो । मनसुनी यामको यो स्वाभाविक प्रक्रिया नै हो । विगतदेखिको पृष्ठभूमि नियाल्ने हो भने औसतमा मनसुनी गतिविधिमा खासै ठूलो परिवर्तन आएको छैन । तर केमा फरक आएको छ भने पहिला बढी पानी पर्ने दिनहरु थोरै थिए, अहिले बढी पानी पर्ने दिनहरु थपिएका छन् । जलवायु परिवर्तनले बढिरहेको पृथ्वीको तापमानका कारण मनसुनको प्रणालीमा असर देखिन थालेको छ । अतिवृष्टि हुने क्रम पनि पछिल्ला दशकमा बढ्न थालेका छन् । संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम (यूएनईपी) र विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले गत वर्ष २०१८ अक्टोवरमा तयार गरेको रिपोर्टमा पनि जलवायु परिवर्तनले अतिवृष्टिका घटना बढ्न थालेको उल्लेख छ ।

अतिवृष्टिका घटना पहाडी मुलुकमा बढी हुन्छ कि सबै ठाउँमा उस्तै प्रभाव रहन्छ ?
नेपालजस्तो पहाडी मुलुकमा अतिवृष्टिका घटना हुने सम्भावना बढी हुन्छ । हाम्रो जस्तो भू–बनोट भएको देशमा पानी पर्ने प्रक्रियालाई सहज बनाइरहेको हुन्छ । न्यूनचापीय क्षेत्रले मनसुनी गतिविधि सक्रिय गराइरहेको अवस्थामा बंगालको खाडी हुँदै भित्रिने जलवाष्पयुक्त हावा पहाडमा ठोकिएर सजिलै वायुमण्डलमा पुग्ने गर्छ । अस्ती मार्च महिनामा नेपालको बारा पर्सामा ‘टोर्नाडो’ आयो, हामी त टर्नाडो अमेरिकातिर मात्रै आउँछ भन्ने बुझ्थ्यौ । अहिले त बंगलादेशमा पनि यस्ता घटना देखिन थालेका छन् । तर जलवायु परिवर्तनकै कारणले कुनै ठाउँमा धेरै पानी प¥यो भन्न मिल्दैन । कुनै पनि एउटा घटनालाई आधार लिएर जलवायु परिवर्तनको प्रभाव प¥यो भन्न मिल्दैन । बढी पानी पर्ने दिन बढेको पक्कै हो ।

तर केही वर्षयता मनसुन समयमा शुरु नभएको, मनसुन भित्रिए पनि सक्रिय नभएको अवस्था पनि छ । के कारणले यस्तो भएको हो ?
नेपालको मनसुनी क्यालेन्डर नियाल्ने हो भने जुन महिनाको १० तारिख आसपासमा भित्रिने मनसुन सेप्टेम्बर २३ तारिख आसपासमा अन्त्य हुने गर्छ । यो औसत क्यालेन्डर हो । यसपटकको अवस्थालाई नियाल्ने हो भने जुन १० आसपासमा शुरु हुने मनसुनको अवधि लम्बिएको छ । सेप्टेम्बरमा गएर मात्रै मनसुन निस्कृय हुन थालेको छ । मनसुनको अवधि लामो हुनु भनेको बढी पानी पर्नु हो । जलवायु परिवर्तनको विश्वव्यापी असरको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावले यस्तो भइरहेको छ । नेपालमा मात्रै होइन अन्यत्र पनि यस्तो प्रभाव पर्न थालेको छ । जलवायु परिवर्तन र हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका भनेको ज्यादै न्यून छ, छैन भने पनि हुन्छ । हरितगृह ग्यास उत्सर्जनमा नेपालको भाग भनेको केवल प्वाइन्ट जिरो सत्ताइस (.०२७) प्रतिशत मात्रै हो । औद्योगिक र विकसित मुलुकहरुका कारणले भइरहेको प्रभावको सजाय नेपालले भोगिरहेको छ हिमाली क्षेत्रमा आइरहेको परिवर्तन प्रत्यक्ष अनुभूत गर्न सक्ने किसिमका छन् ।

मनसुनी सूचना सम्प्रेषणमा नेपाल अहिले कुन अवस्थामा छ ?
एक दशकयताको अवस्था नियाल्ने हो भने मनसुनी सूचना सम्प्रेषणमा जल तथा मौसम विज्ञान विभागले निकै राम्रो प्रगति गरेको छ । पहिला २४ घन्टाको मात्रै मौसम पूर्वानुमान हुन्थ्यो भने अहिले तीन दिनसम्मको हुँदै आएको छ । खोला, नदी र जलाधार क्षेत्रमा हुने बाढीको अवस्थाबारे अग्रिम सूचना जारी हुन थालेको छ । विश्वमा प्रचलनमा रहेका मोडेल र अभ्यासको आधारमा मौसमको सूचना अपडेट हुने भएकाले अहिले मौसमी सूचना निकै विश्वसनीय हुन थालेको छ । अहिले कोही घर बाहिर निस्किनु प¥यो भने मौसमको सूचना लिन चाहन्छ विदेशमा पनि यस्तो अभ्यास चलिरहेको छ । तर प्रविधिमा निकै फड्को मारेका मुलुकले पनि सबै क्षेत्रको मौसम यस्तै हुन्छ भनेर सुक्ष्म विश्लेषण गर्ने र दुरुस्तै भन्न सक्ने अवस्था भने छैन । अमेरिका वा अन्य सम्पन्न मुलुकमा पनि हुँदैन । यद्यपि अहिले नेपालको मौसम विभागले गरेको प्रगतिलाई निकै प्रशंसनीय मान्नुपर्छ ।

यस्तो विषयको अनुसन्धानमा नेपालको अवस्था कस्तो पाउनुभएको छ ?
नेपालमा अहिलेसम्म मौसम विज्ञानबारेको गहन अनुसन्धान हुन सकेको छैन । मौसम विभागको तर्फबाट पनि यो काम हुन सकेको छैन । मौसम विभाग अझै पनि सरकारको प्राथमिकतामा पर्न नसकेको अवस्थामा उसले असुन्धानलाई जोड दिने कुरै भएन । अनुसन्धानका लागि यथोचित बजेट, स्रोत साधन र जनशक्ति चाहिन्छ, नेपालको अहिलेको अवस्था नियाल्दा यस्तो प्रयास भएकै छैन । यस्तो कामका लागि सामान्य बजेट पनि छुट्याइँदैन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा मौसम विज्ञानको अध्ययन अध्यापन हुँदै आएको छ तर त्यहाँ पनि अध्यापन मात्रै हुन्छ, अनुसन्धान हुँदैन ।

यस्तो विषयको अनुसन्धानका लागि छुट्टै निकाय खुल्नुपर्छ, विज्ञहरुलाई आवद्ध गराइनुपर्छ भनेर दुई दशकअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो । सरकारले सन् २०११मा जलवायु नीति बनाएको थियो, सो नीतिमा एउटा महत्वपूर्ण बुँदाको रुपमा नेपालमा जलवायु परिवर्तनको अध्ययन अनुसन्धानका लागि छुट्टै इकाई चाहिन्छ भन्ने कुरा उल्लेख थियो । त्यस्तो इकाई एक वर्षभित्रै स्थापना गरिने कुरा उल्लेख थियो, तर अहिलेसम्म त्यस्तो कुनै काम हुन सकेको छैन । मैले सुनेअनुसार संसद्मा ड्राफ्ट भएको नयाँ जलवायु नीतिमा पनि यो विषय समावेश भएको छैन । यस्तो विषयको अनुसन्धानका लागि उपकरण मात्रै भएर हुँदैन, मुलुकले लाभ लिने गरी अनुसन्धान संस्थागत हुनुपर्छ । सरकारले कोही व्यक्ति विशेष वा एनजिओ र आईएनजीओले गरेको अनुसन्धान र रिपोर्टलाई खोज्दै हिँड्नु सुहाउने कुरा होइन । सरकारले खोजेको र चाहेको तथ्यांक वा रिपोर्ट सरकारी निकायबाटै उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्