तरबारबाजी जस्तै देखिने फेन्सिङ सुरक्षित खेल



सन् २००२ मा अफिस एसिस्टेन्टको रुपमा नेपाल ओलम्पिक कमिटीमा काम सुरु गरेर अहिले एक्ज्यूकेटिभ सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आउनुभएका हुन् सुजन लाल श्रेष्ठ । नेपालमा फेन्सिंग खेल भित्राउने श्रेय पनि उहाँलाई नै जान्छ । ओलम्पिक गेम्स म्यानेजमेन्ट र ओलम्पिक गेम्स हिस्ट्रीमा स्नातकोत्तर गरेका उनी झन्डै डेढ दशकभन्दा लामो समयदेखि नेपाल ओलम्पिक कमिटीमा कार्यरत हुनुहुन्छ । नेपाल फेन्सिंग संघका महासचिव समेत रहेका श्रेष्ठसँग नेपाल समाचापत्र का लागि कविरस शर्मा ले गरेको कुराकानीः

खेलकूदतिर कसरी आकर्षित हुनुभयो ?
फुटबल र क्रिकेटमा रुचि भएका कारण खेलकूदतिर आकर्षित भएको हुँ । पहिला म फुटबल खेल्थे । सी डिभिजन टोली युवा समाज क्लबबाट खेल्ने गर्थे । त्यसपछि क्रिकेटतिर पनि आकर्षित भएँ । त्यतिबेला काठमाडौंमा दुई÷तीन वटा मात्र स्थानीय क्रिकेट क्लब थिए । क्रिकेटबारे धेरै जना अनभिज्ञ नै थिए । विधालय पढ्दा नै टुँडिखेलमा अरुले क्रिकेट खेलेको देखेर विस्तारै मोह बढेको थियो । घरबाट पढ्न दवाब बढेपछि चाहिं खेल सौखकै रुपमा रह्यो ।

नेपाल ओलम्पिक कमिटीमा कहिलेदेखि कार्यरत हुनुहुन्छ ?
स्नातक सकाएपछि मैले नेपाल ओलम्पिक कमिटीमा काम गर्ने अवसर पाएँ । सन् २००२ देखि म नेपाल ओलम्पिक कमिटीमा कार्यरत छुँ । सुरुमा अफिस एसिस्टेन्टको रुपमा प्रशासनिक काम हेर्थे । त्यो बेला ध्रुवबहादुर प्रधान महासचिव हुनुहुन्थ्यो । उहाँको मातहतमा रहेर मैले प्रशासन सम्बन्धित काम सिक्ने अवसर पाएँ । त्यतिबेला नै किशोरबहादुर सिंह डाइरेक्टर रहेको ‘ट्यालेन्ट हन्ट’ जस्तो ठूलो प्रोजेक्टमा पनि मैले काम गर्ने मौका पाएँ ।

त्यसपछि सन् २००४ मा तत्कालिन अध्यक्ष रुक्म शम्शेर राणाको मातहत काम गर्ने अवसर मिल्यो । एक्ज्यूकेटिभ सेक्रेटरीमा बढुवा भएपछि मैले अन्तर्राष्ट्रिय समन्वयदेखि प्रशासन, फाइनान्स लगायत ओभरअल सबै हेर्न थालेको हुँ । सुरुमा यो चुनौतीपूर्ण थियो । तर तत्कालिन पदाधिकारीहरु तथा सदस्यहरुको साथले गर्दा मलाई चुनौती पन्छ्याउन गा¥हो भएन ।

ओलम्पिक सम्बन्धित कोर्समा स्नातकोत्तर गर्नुभएको हो ?
सन् २०१३/१४ मा मैले ग्रीसको ओलम्पिया सहरमा अवस्थित इन्टरनेसनल ओलम्पिक एकेडेमीबाट ओलम्पिक गेम्स म्यानेजमेन्ट र ओलम्पिक गेम्स हिस्ट्रीमा मास्टर्स डिग्री गरेको हुँ ।

काम र पढाईलाई सँगसँगै कसरी लानु भयो ?
स्नातकपछि काम गर्न थालेकोले पढाई ब्रेक भएको थियो । त्यसपछि एकैपटक सन् २००९ मा ग्रीसको ओलम्पियामा रहेको इन्टरनेसनल ओलम्पिक एकेडेमीमा मास्टर कोर्स अन्तर्गत ओलम्पिक स्टडीज र ओलम्पिक म्यानेजमेन्ट कोर्स सञ्चालन हुने कुरा तत्कालीन कोषाध्यक्ष उपेन्द्र न्यौपानेबाट जानकारी पाएँ । त्यसपछि मैले प्रक्रिया थाले । मास्टर्सको त्यो पहिलो ब्याच थियो । त्यसका लागि म छनोट पनि भएँ ।

तर त्यसमयमा नेपाली एथ्लेटिक्सका जर्मन प्रशिक्षकको डोपिंग विवाद प्रकरण चुलिएको थियो । जसका कारण मैले त्यो वर्ष नेपालमा रहेको फ्रेन्च दूतावासबाट ग्रीसको भिसा पाउन सकिन । त्यसको एक वर्षपछि मैले आफु सहभागी हुन नसकेको कारण उल्लेख गरेर भारतमा रहेको ग्रीस दूतावासमा नै पुगी पुनः भिसा प्रक्रिया अघि बढाएपछि पढ्ने अवसर पाएँ । मेहनत चाहिँ धेरै नै गरें । थेसिस पूरा गर्न भने १ वर्ष लाग्यो ।

नेपाली खेलकूद विकासमा नेपाल ओलम्पिक कमिटीको भूमिका कस्तो हुनुपर्दछ ?
खासमा खेलकूद विकासका लागि योजना बनाउने भनेको राज्यको दायित्व भित्र पर्दछ । ओलम्पिक कमिटी भनेको त अन्तर्राष्ट्रिय खेलकूदसँग सम्बन्ध बनाउने पुल मात्र हो । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ओलम्पिक कमिटीले समन्वयको भूमिका मात्र निर्वाह गर्ने हो । त्यो बाहेक हामीले गर्ने भनेको कुनै पनि खेलको स्तर उकास्न आवश्यक प्रशिक्षक, अध्ययन अथवा छात्रवृत्तिको अवसर प्रदान गर्नु हो ।

१३औं दक्षिण एसियाली खेलकूद (साग) नजिकिँदै छ, तयारी कस्तो हुँदैछ ?
हामीसँग करिब ५ महिना बाँकी रहेको छ । राज्यबाट जुन गतिमा तयारी हुनुपर्ने हो त्यो हुन नसकिरहेको हो की भन्ने मलाई लागेको छ । ओलम्पिक कमिटीले त प्रतियोगिता सञ्चालनका लागि सहज वातावरण मात्र बनाइदिने हो, खेललाई सफलतापूर्वक सञ्चालन गर्न खेल सम्बन्धित प्राविधिक पक्षलाई सम्हाल्ने हो । प्रतियोगितालाई आवश्यक भौतिक पूर्वाधारदेखि बजेट ब्यवस्था राज्यकै दायित्वभित्र पर्दछ । खेलको मिति जति नजिकिन्छ त्यति नै दवाब बढ्छ । अहिलेको अवस्थालाई हेर्दा काम गर्ने अवधि बढाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

१३औं सागका लागि नेपाल ओलम्पिक कमिटीले कस्तो गृहकार्य गरिरहेको छ ?
हाम्रोतर्फबाट गर्नुपर्ने कुनै काम रोकिएको छैन । सार्क राष्ट्रका ओलम्पिक कमिटीहरुसँग राम्रो समन्वय र सहकार्य भई नै रहेको छ । सागबाट सेन्ट्रल एसिया स्पोर्ट्समा आबद्ध भएका अफगानिस्तानले समेत अहिले पुनः सागमा सहभागी हुनका लागि इच्छा देखाइरहेको छ । तर अहिलेको लागि भने हामीले त्यो विषयलाई त्यति महत्व दिएका छैनौ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जाँदा ओलम्पिक कमिटीको भूमिका कस्तो हुने गर्दछ ?
ओलम्पिकको नै कुरा गर्ने हो भने त्यसमा पूर्ण रुपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नै खर्च बेहोर्ने गर्दछ । त्यसमा सहभागी देशका खेलाडीले पाउने पर्ने सबैखाले खर्च र सुविधा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीकै जिम्मेवारीभित्र पर्दछ ।

तर एसियन गेम्स अथवा सागका लागि हुने सम्पूर्ण खर्च भने राज्यको दायित्व भित्र पर्छ । तर खेलाडीको तयारी प्रशिक्षणका वा वैदेशिक प्रशिक्षणका लागि भने अनुकूल वातावरण मिलाउन नेपाल ओलम्पिक कमिटीको महत्वपूर्ण भूमिका हुन्छ ।

कुनैपनि राष्ट्रिय खेल संघका लागि नेपाल ओलम्पिक कमिटीको भूमिका कस्तो हुनुपर्दछ ?
विशेषगरी नेपाल ओलम्पिक कमिटीको भूमिका भनेको राष्ट्रिय खेलकुद संघहरुको स्वायत्ततालाई रक्षा गर्ने र ओलम्पिक चार्टर अनुसार ओलम्पिक मुभमेन्टको विकास र विस्तार गर्ने हो । कुनै पनि राजनैतिक निर्णय अनुरुप संघमा हस्तक्षेप नगर्ने र नगराउने हो ।

राष्ट्रिय खेल संघसंग नेपाल ओलम्पिक कमिटीले पुलको काम कसरी गर्छ ?

नेपाल ओलम्पिक कमिटीसँग सम्बन्धन भएका जम्मा २६ वटा खेल संघ मात्र नेपालमा छन् । जसमध्ये २४ वटा ओलम्पिक स्पोर्ट्स र बाँकी दुई वटा नन् ओलम्पिक स्पोर्ट्स छन् ।

१३औं सागमा समावेश २७ खेल पनि ओलम्पिक र नन् ओलम्पिक दुवै छन् । ती खेल संघलाई हामीले प्राविधिक सहयोग गर्ने हो । जस्तो की उच्चस्तरको प्रशिक्षणका लागि खेलाडीलाई विदेशमा पढ्न र प्रशिक्षणमा पठाउने, खेलको नियमहरु अपडेट गराउने, रेफ्री कोर्स, कोचेज कोर्स लगायत छन् । त्यो बाहेक विदेशी प्रशिक्षकलाई नेपालमा भित्राउन अनुकूल वातावरण सिर्जना गर्ने हो ।


नेपालमा फेन्सिंग खेल कसरी भित्राउनु भयो ?
सन् २००६ मा कतारको दोहामा एसियन गेम्स हुँदा नेपाल ओलम्पिक कमिटीको एम्बेस्डरको रुपमा म सहभागी भएको थिएँ । जसमा भारतबाट पनि म जस्तै एकजना एम्बेस्डर अरुण विजय आउनु भएको थियो । उहाँ बितिसक्नु भयो । उहाँ फेन्सिंगका साउथ एसियन रिजनको र इन्डियन फेन्सिंग फेडेरेसनका पनि महासचिव हुनुहुन्थ्यो । फेन्सिंग ओलम्पिक स्पोर्ट्स भएकोले उहाँकै सुझाव र सहयोगमा मैले सन् २००९ मा नेपालमा फेन्सिंग खेल भित्राएको हुँ ।

त्यतिबेला फेन्सिंगको बारे केहि थाहा छैन भन्दा उहाँले नै प्रशिक्षक पठाउनुका साथै र खेल्ने आवश्यक सामाग्री पनि सहयोग गर्नुभएको थियो । हामीले सन् २०१० मै वल्र्ड फेन्सिंग च्याम्पियनशिपमा सहभागिता जनायौं । खेलाडीको रुपमा अभिषेक कार्कीको सहभागिता भएकोथियो । त्यसको एक वर्षपछि भारतमा भएको प्रतियोगितामा फेन्सिंगमार्फत् पहिलो काश्य पदक जित्न सफल भयौं ।

नेपालमा फेन्सिंगको परिचय कसरी गराउनु भयो ?
हामीलाई महाराजगञ्जस्थित शिवपुरी स्कुलले ठूलो सहयोग गरेका छन् । हामीले फेन्सिंगको सुरुवात नै त्यहीबाट गरेका हौं । त्यहाँ ९÷१० कक्षामा अध्ययनरत विधार्थीलाई फेन्सिंगको बारेमा ब्रिफिंग गराएर हामीले प्रशिक्षणको सुरुवात गरेका थियौं । त्यस्तै काँडाघारीमा बस्ने मार्सल आर्ट्सका खेलाडीहरुले पनि फेन्सिंगप्रति इच्छा देखाएपछि त्यहाँ पनि हामीले प्रशिक्षण गरायौं ।

फेन्सिंग कस्तो खेल हो ?
हुबहु तरवारबाजी जस्तो देखिने यो निक्कै सुरक्षित कम्ब्याट खेल हो । मेटल स्टिक शरीरमा छोएर अंक लिइन्छ । सेन्सर प्रणालीबाट अंक दिइने यो खेलमा शरीरलाई पूर्णरुपमा सुरक्षित राख्ने विशेष प्रकारको पोशाक र हेलमेट लगाइन्छ । यो संसारकै पुरानो खेलमा गनिन्छ । तर नेपालमा भने नयाँ हो । यसलाई इटाली र फ्रान्सबाट सुरु भएको मानिन्छ । सन् १८९६ मा मोडर्न ओलम्पिक सुरुभएयता देखि नै संसारमा यो खेलले परिचय बनाएको हो ।


नेपालमा फेन्सिंग संघको दर्ता कसरी गर्नुभयो ?
मैले सुरुमा नै अन्तर्राष्ट्रिय सम्बन्धन गरिसकेको थिएँ । नेपालमा भने मैले सुरूमा जिल्ला प्रशासन कार्यालयमा यो संघ दर्ता गरेको हुँ । त्यसपछि सन् २०१४ मा राष्ट्रिय खेलकूद परिषदका तत्कालिन सदस्य सचिव युवराज लामाको कार्यकालमा मैले राखेपमा दर्ता गराए । सुनील श्रेष्ठको अध्यक्षतामा पहिलो पटक नेपाल फेन्सिंग संघ गठन भएको हो । त्यसका लागि मलाई नेपाल ओलम्पिक कमिटीका तत्कालिन अध्यक्ष ध्रुव बहादुर प्रधान र राखेप सदस्य सचिव युवराज लामाले धेरै सहयोग गर्नुभएको थियो ।

अहिले नेपालमा फेन्सिंगको अवस्था कस्तो छ ?
यो खेल नेपालमा भित्रिएको धेरै भएको छैन । नेपालमा फेन्सिंग खेल बारे धेरै कमलाई मात्र थाहा छ । यो खेल्ने आवश्यक सामग्री नेपाली बजारमा पाउन पनि सहज छैन । घरेलु प्रतियोगिताको कुरा गर्ने हो भने फेन्सिंगमा नेपाली आर्मीको दबदबा रहेको छ ।

यो खेल आसन्न १३औं सागमा पनि पहिलो पटक समावेश गरिएको छ । तर सरकारको महत्वमा भने यो खेल पर्न नसकेको जस्तो लाग्छ । सरकारीस्तरबाट यसमा गर्नु पर्ने धेरै नै देख्छु । प्रशिक्षणका लागि खेलस्थल नै छैन । कम्तिमा पनि आगामी सागलाई मध्यनजर गरी प्रशिक्षणस्थल उपलब्ध हुन्छ की भन्ने आशा गरेको छु ।

१३औं सागमा यो खेलबाट पदक आशा गर्न सकिन्छ ?
स्वर्ण पदक नै ल्याउँछ भनेर भन्दिन । तर रजत पदकको प्रबल सम्भावना छ । किनभने दक्षिण एसियामा भारतीय फेन्सिंगको स्तर निक्कै उच्च रहेको छ । पाकिस्तान, श्रीलंका र बंगलादेशको स्तर भने हाम्रो जस्तै हो । रजत ल्याउने दावी किन गर्छु भने सन् २०१८ मा बैंककमा सम्पन्न एसियन फेन्सिंग च्याम्पियनशिपमा हाम्रो खेलाडीले श्रीलंका र बंगलादेशलाई सहजै हराएका थिए ।

१३औं सागका लागि फेन्सिंगको तयारी कसरी चल्दैछ ?
मुख्यतः प्रशिक्षणस्थल र दक्ष प्रशिक्षक अभावका कारण नै अहिले ट्रेनिंग सहज हुन सकिरहेको छैन । कहिले कता कहिले कता गरी बन्द शिविर प्रशिक्षणमा ६ जना खेलाडीले ट्रेनिंग गरिरहेका छन् । मुख्यतः अहिले हाम्रो समस्या भनेको प्रशिक्षणस्थलको अभाव नै हो ।

ट्रेनिंगका लागि एकपटक सेट गरिसकेका औजारहरु पनि निश्चित प्रशिक्षणस्थलको अभावका कारण पटक पटक सार्नु परेकाले खेलाडीलाई असुविधा भएको छ । यो बाहेक एकजना दक्ष प्रशिक्षकको पनि खाँचो रहेको छ । यो खेल १३औं सागमा समावेश गरे लगत्तै बंगलादेशले दक्षिण अफ्रिकाका चर्चित ओलम्पियनलाई प्रशिक्षकमा नियुक्ति गरिसकेका छन् । श्रीलंकाले पनि अन्य देशका प्रशिक्षकलाई भित्राएका छन् ।

प्रतिक्रिया दिनुहोस्